मोज्तबा खामेनी बने इरानका नयाँ सर्वोच्च नेता

एजेन्सी, २४ फागुन । अमेरिका र इजरायलको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको उत्तराधिकारीका रूपमा उनका छोरा मोज्तबा खामेनीलाई चयन गरिएको छ ।

आफ्ना बाबुको तुलनामा ५६ वर्षीय मोज्तबा सधैँ पर्दा पछाडि रहेर काम गर्न रुचाउने व्यक्ति हुन् । उनले अहिलेसम्म कुनै पनि सरकारी पद सम्हालेका छैनन् भने सार्वजनिक रूपमा भाषण वा अन्तर्वार्ता पनि दिएका छैनन्। मिडियामा उनका निकै सीमित तस्बिर र भिडिओहरू मात्र सार्वजनिक भएका छन्। तर, वर्षौँदेखि इरानको सत्ता समीकरणमा उनले पर्दा पछाडिबाट ठूलो प्रभाव पार्दै आएको चर्चा निरन्तर हुँदै आएको छ।

सन् २००० को दशकको अन्त्यतिर विकिलिक्सले सार्वजनिक गरेका अमेरिकी कूटनीतिक दस्ताबेजहरूमा उनलाई ‘पोसाकभित्र लुकेको शक्ति’ भनेर वर्णन गरिएको थियो। समाचार एजेन्सी एपीका अनुसार उनलाई सत्ताभित्र एक सक्षम र शक्तिशाली पात्रका रूपमा हेरिन्छ। 

यद्यपि, उनको छनोट विवादरहित भने पक्कै छैन। सन् १९७९ मा राजतन्त्रको अन्त्य गर्दै स्थापना भएको इस्लामिक गणतन्त्रको मुख्य विचारधारा नै सर्वोच्च नेता वंशानुगत रूपमा नभई उसको धार्मिक हैसियत र प्रमाणित नेतृत्व क्षमताका आधारमा छनोट हुनुपर्छ भन्ने हो। 

अली खामेनीले आफ्नो शासनकालमा भावी नेतृत्वका बारेमा कहिल्यै प्रस्ट रूपमा बोलेका थिएनन्। सर्वोच्च नेता छनोट गर्ने निकाय एसेम्बली अफ एक्सपर्ट्सका एक सदस्यले दुई वर्षअघि मात्रै अली खामेनीले आफ्ना छोरालाई भावी नेतृत्वको उम्मेदवार बनाउने विचारको विरोध गरेको बताएका थिए। तर, यस्ता अनुमानहरूबारे उनले सार्वजनिक रूपमा कहिल्यै सम्बोधन गरेका थिएनन्।

मोज्तबा खामेनीको जन्म सन् १९६९ सेप्टेम्बर ८ मा उत्तरपूर्वी सहर मशादमा भएको हो। खामेनीका ६ सन्तानमध्ये उनी दोस्रो हुन्। उनले तेहरानको धार्मिक अलावी स्कुलबाट माध्यमिक शिक्षा हासिल गरेका थिए। इरानी सञ्चारमाध्यमहरूका अनुसार १७ वर्षको उमेरमा मोज्तबाले इरान-इराक युद्धका क्रममा केही छोटो अवधिका लागि सेनामा पनि सेवा गरेका थिए। उक्त आठ वर्षे रक्तपातपूर्ण युद्धले इरानी सत्तालाई अमेरिका र पश्चिमा राष्ट्रहरूप्रति थप सशंकित बनाएको थियो, जसले त्यसबेला इराकलाई समर्थन गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत

काठमाडौँ, १६ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारको प्राथमिकता विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापना हुने भएको बताएका

एजेन्सी, १६ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।