इन्डोनेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी

एजेन्सी, २२ फागुन । इन्डोनेसिया सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगबाट रोक्ने तयारी गरेको छ ।

अनलाइन पोर्नोग्राफी, साइबरबुलिङ, ठगी र इन्टरनेटको लत बढ्दै गएको भन्दै यस्तो कदम चाल्न लागिएको सञ्चारमन्त्री मेउत्या हफिदले शुक्रबार जानकारी दिए ।

मन्त्री हफिदका अनुसार उच्च जोखिम मानिएका सामाजिक सञ्जाल प्लेटफर्महरूमा १६ वर्षमुनिका प्रयोगकर्ताका खाताहरू क्रमशः निष्क्रिय बनाइनेछ । यसमा युट्युब, टिकटक, फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स, बिगो लाइभ र रोब्लक्सजस्ता लोकप्रिय प्लेटफर्महरू समेटिएका छन् । उनले सरकारले यस्तो निर्णय अभिभावकलाई अनलाइन जोखिमसँग एक्लै जुध्न नपरोस् भन्ने उद्देश्यले लिएको बताए ।

सरकारले नयाँ व्यवस्था मार्च २८, २०२६ देखि चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ । मन्त्री हफिदका अनुसार सबै डिजिटल प्लेटफर्महरूले आवश्यक मापदण्ड पूरा नगरेसम्म प्रतिबन्ध विस्तार हुँदै जानेछ । यस विषयमा टिकटक इन्डोनेसिया र गुगल इन्डोनेसियासँग प्रतिक्रिया मागिएको भए पनि तत्काल कुनै प्रतिक्रिया प्राप्त भएको छैन । इन्डोनेसियाको यो पहल विश्वका अन्य देशहरूमा भइरहेका यस्तै प्रयाससँग पनि जोडिएको देखिन्छ । गत डिसेम्बरमा अस्ट्रेलियाले टिकटक, युट्युब, स्न्यापच्याटलगायतका सामाजिक सञ्जाललाई १६ वर्षमुनिका बालबालिकाका खाताहरू हटाउनुपर्ने व्यवस्था गरेको थियो । यस्तै कदमबारे युरोपेली सङ्घ (इयु) मा पनि छलफल सुरु भएको छ ।

ब्रसेल्सले अस्ट्रेलियाको प्रतिबन्ध कति प्रभावकारी हुन्छ भन्ने विषयलाई नजिकबाट नियालिरहेको छ । यसबीच उक्त निर्णयविरुद्ध कानूनी चुनौतीहरू पनि दर्ता भइसकेका छन् । फ्रान्स, डेनमार्क, ग्रिस र स्पेनले पनि इयुको स्तरमै यस्तै नीति लागू गर्न दबाब दिइरहेका छन् भने भारतले पनि किशोर प्रयोगकर्तामाथि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने सम्भावना अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । रौतहटको गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

काठमाडौँ, १७ असोज । सिराहाको औरही गाउँपालिका-१ दरैया क्षेत्रबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले एकसय १० किलो ७६० ग्राम गाँजासहित

काठमाडौँ, १७ असोज । लमजुङ बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेसीसहर–चामे सडक सञ्चालनमा आएको छ । डुम्रे–बेसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी

काठमाडौँ, १७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ