अफगानिस्तानमा पाकिस्तानको भीषण हवाई आक्रमण

एजेन्सी, १० फागुन । पाकिस्तानले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा रातभर शृङ्खलाबद्ध हवाई आक्रमण गरेको छ, जसमा महिला र बालबालिकासहित दर्जनौँ नागरिकको मृत्यु भएको तालिबान सरकारले दाबी गरेको छ ।

पाकिस्तानले अफगानिस्तान–पाकिस्तान सीमा नजिक रहेका सातवटा कथित चरमपन्थी शिविर र लुक्ने ठाउँहरूलाई लक्षित गरी यो आक्रमण गरिएको बताएको हो । 

पाकिस्तानमा हालै भएका आत्मघाती बम विष्फोटका घटनाहरूको बदला स्वरूप यो सैन्य कारबाही गरिएको इस्लामावादको तर्क छ । तालिबानको रक्षा मन्त्रालयका अनुसार पाकिस्तानी लडाकु विमानहरूले नान्गाहार र पक्तिका प्रान्तका नागरिक बस्ती र एउटा धार्मिक विद्यालयलाई निशाना बनाएका छन् । 

नान्गाहारका अधिकारीहरूले बीबीसीलाई बताएअनुसार शाहबुद्दीन नामक एक व्यक्तिको घरमा भएको बमबारीमा उनको परिवारका महिला र बालबालिकासहित करिब २० जनाको ज्यान गएको छ । तालिबानले यस आक्रमणलाई अफगानिस्तानको क्षेत्रीय अखण्डताको घोर उल्लङ्घन र अन्तर्राष्ट्रिय कानुनको विपरीत कार्य भन्दै कडा शब्दमा निन्दा गरेको छ ।

यता पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले भने आफूले प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेट–खोरासान (आईएस–के) का अखडाहरूमा ‘गुप्तचरमा आधारित छनौटपूर्ण आक्रमण’ गरेको दाबी गरेको छ। पाकिस्तानले काबुलले आश्रय दिएका आतङ्ककारी समूहहरूले यसै महिनाको सुरुमा राजधानी इस्लामावादस्थित शिया मस्जिद र खैबर पख्तुनख्वा प्रान्तमा गराएको आत्मघाती विष्फोटका कारण यो कदम चाल्न बाध्य भएको बताएको छ । पाकिस्तानले ती आक्रमणहरू अफगानिस्तानमा रहेका नेतृत्वको निर्देशनमा भएको ‘ठोस प्रमाण’ आफूसँग रहेको जिकिर समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १७ असोज । जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा बेरोजगारी दर २.४ प्रतिशत थियो

एजेन्सी, १७ असोज । अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको सङ्ख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको

एजेन्सी, १६ असोज । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ ।  नयाँ व्यवस्था अक्टोबर २ अर्थात्

एजेन्सी, १६ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।