काठमाडौँ, २८ माघ । अभिनेता राजेश हमालले जापानका ६ सहरमा आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ को बुक-टूर गर्ने भएका छन् ।
गैरआवासीय नेपाली संघ जापानको आयोजनामा त्यहाँका ६ सहर टोकियो, सिजुओका, नागोया, ओसाका, फुकुओका र ओकिनावामा हुने ‘युगदेखि युगसम्म : सपना, साधना र सफलता’ शीर्षक कार्यक्रममा हमाल सहभागी हुने भएका हुन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास जापान) को सहआयोजना एवं फाइनप्रिन्ट बुक्सको पहल र नेपाल एयरलाइन्सको सहयोगमा हुन लागेको कार्यक्रम ११ फेबु्रअरीमा टोकियो, १४ फेब्रुअरीमा सिजुओका, १५ फेबु्रअरीमा नागोया, १७ फेब्रुअरीमा ओसाका, १९ फेबु्रअरीमा फुकुओका र २० फेब्रुअरीमा ओकिनावामा हुनेछ ।
जापानमा रहेका आफ्ना शुभचिन्तक एवं पाठकसमक्ष पुग्ने अवसर पाउँदा आफूलाई खुसी लागेको महानायक हमालले बताए । उनले भने, ‘म आफ्नो पुस्तकसहित जापानमा रहनुभएका नेपाली पाठकलाई भेट्न पाउँदा उत्साही छु । केही महिनाअघि जापान पुग्दा उहाँहरूले मेरो पुस्तकबारे चासो प्रकट गर्नुभएको थियो । यसपालि म उहाँहरूसँग मेरो जीवन, विचार र साधनाबारे मुखरित हुनेछु,’ ।






