काठमाडौँ, २३ माघ । फ्राइडे रिलिज अन्तर्गत आजबाट दुई नयाँ नेपाली फिल्महरू ‘कुमारी’ र ‘रमिताको पिरती’ प्रदर्शनमा आए ।
दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । यद्यपि देशभरका फिल्म सिनेमा घर यी दुबै फिल्मले कब्जा जमाउन भने पाएको छैन । किनभने यसअघि प्रदर्शनमा आएको ‘आ बाट आमा’, ‘परान’ केही विदेशी फिल्मले केही स्टेशन भने ओगटेका छन् । ‘कुमारी’ दिनेश राउत निर्देशित फिल्म हो भने ‘रमिताको पिरती’लाई महिला निर्देशक सुदीप्ता अधिकारीले निर्देशन गरेकी हुन् ।
युवा–युवतीको प्रेम कथामा आधारित फिल्म ‘कुमारी’ ले देशभरका हलहरूमा १ सय ५२ शोज पाउँदै सुखद सुरुवात गरेको छ । यो फिल्म नेपालसँगै अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूमा पनि प्रदर्शनमा आउनेछ । निर्माता महेन्द्र अधिकारीका अनुसार अस्ट्रेलियाका लागि असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकाका लागि आत्रेय प्रोडक्सन र कोसेली कोलोराडो, क्यानडाका लागि मेरो इभेन्ट्स र मध्यपूर्वका लागि नेपफिल्मले प्रदर्शन अधिकार खरिद गरेका छन् ।
विनिष इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मबाट अभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन् । फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की लगायतको अभिनय छ । विकास सुवेदीको लेखन र सुसन प्रजापतिको छायाङ्कन रहेको यो फिल्मका कार्यकारी निर्माता केदार भुसाल हुन् ।






