एजेन्सी, १९ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको सैन्य–प्राविधिक सहयोग प्रणालीले सन् २०२५ मा उल्लेख्य सफलता हात पारेको बताएका छन् ।
सैन्य–प्राविधिक सहयोग आयोगको बैठकलाई सम्बोधन गर्दै पुटिनले गत वर्ष विश्वका ३० भन्दा बढी देशमा सैन्य सामग्री आपूर्ति गरेर रुसले १५ अर्ब अमेरिकी डलरभन्दा बढी वैदेशिक मुद्रा आर्जन गरेको जानकारी दिए ।
क्रेमलिन प्रेस सेवाका अनुसार राष्ट्रपति पुटिनले रुसी सैन्य उद्योगले उच्च प्रभावकारिता र लचिलोपन प्रदर्शन गरेको दाबी गरे। हतियार बिक्रीबाट प्राप्त भएको यस आम्दानीलाई रक्षा उद्योगको आधुनिकीकरण, उत्पादन क्षमता विस्तार र नयाँ वैज्ञानिक अनुसन्धानमा खर्च गरिने उनले स्पष्ट पारे। पुटिनले रक्षा क्षेत्रमा भएको यो प्रगतिले रुसको अर्थतन्त्र र सैन्य शक्तिलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
सन् २०२६ का प्राथमिकताहरू राष्ट्रपति पुटिनले सन् २०२६ मा रुसको सैन्य निर्यात अझै बढ्ने अपेक्षा गरेका छन्। उनले आगामी वर्षका लागि रणनीतिक प्राथमिकताका क्षेत्रहरू समेत निर्धारण गरेका छन् । रुसले अब स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस), सामूहिक सुरक्षा सन्धि सङ्गठन (सीएसटीओ) आबद्ध मुलुकहरू र अफ्रिकी देशहरूलाई सैन्य–प्राविधिक सहयोगको प्रमुख केन्द्रमा राख्नेछ ।
विद्यमान वित्तीय संयन्त्र र सहयोगका उपायहरूको प्रभावकारी प्रयोग गर्दै निर्यात बढाउन उनले जोड दिएका छन् । अन्तर्राष्ट्रिय प्रतिबन्ध र दबाबका बीच पनि रुसले आफ्नो सैन्य बजारलाई विस्तार गर्ने र मित्र राष्ट्रहरूसँगको रक्षा साझेदारीलाई बलियो बनाउने नीति लिएको देखिन्छ।







