मुम्बई, १९ माघ । मुम्बईको जुहूस्थित चर्चित फिल्म निर्देशक रोहित शेट्टीको निवासबाहिर शनिबार अबेर राति गोली प्रहार भएको छ ।
नौ तले भवनको पहिलो तलामा राति करिब १२:४५ बजे आक्रमणकारीहरूले कम्तीमा पाँच राउन्ड गोली चलाएका हुन् ।
प्रहार गरिएकोमध्ये एउटा गोली भवनभित्र रहेको जिमको सिसामा लागेको प्रहरीले जनाएको छ । घटना लगत्तै सक्रिय भएको पुणे प्रहरीले आइतबार यस मामलामा संलग्न भएको आशङ्कामा चार जनालाई हिरासतमा लिएको छ ।
यस आक्रमणको जिम्मेवारी कुख्यात लरेन्स बिश्नोई ग्याङले लिएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘शुभम लोन्कर आरजु बिश्नोई’ नामक एकाउन्टबाट एउटा पोस्ट सार्वजनिक गर्दै ग्याङले यो घटनाको जिम्मा लिएको हो ।
पोस्टमा यसलाई ‘सानो ट्रेलर’ मात्र भन्दै चेतावनी दिइएको छ । ‘अर्को पटक घरबाहिर होइन, उसको बेडरुमभित्र छिरेर छातीमा गोली हान्नेछौँ,’ पोस्टमा लेखिएको छ । यसअघि पटक-पटक सन्देश पठाउँदा पनि आफ्नो काममा दखल दिएकाले शेट्टीलाई निशाना बनाएको उनीहरूको दाबी छ ।






