एजेन्सी, २१ पौष । म्यानमाको सैन्य सरकारले देशको स्वतन्त्रता दिवसको अवसरमा वार्षिक ‘क्षमायोजन कार्यक्रम’ अन्तर्गत ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा गरेको छ ।
सैन्य शासनको राष्ट्रिय सुरक्षा परिषद्को विज्ञप्तिमा भनिएको छ, “सङ्घीय गणराज्य म्यानमारका कार्यवाहक राष्ट्रपतिले विभिन्न जेल, हिरासत केन्द्र र शिविरमा सजाय भोगिरहेका ६ हजार १३४ जना पुरुष र महिला कैदीलाई क्षमादान प्रदान गर्नुभएको छ ।”
त्यसैगरी ५२ जना विदेशी कैदी पनि रिहा गरी आफ्ना देशमा प्रत्यर्पण गरिने बताइएको छ ।
फेब्रुअरी सन् २०२१ मा भएको सैनिक विद्रोहपछि हजारौँ प्रदर्शनकारी र मानवअधिकारकर्मीलाई पक्राउ गरिएको थियो । यसले म्यानमाको छोटो लोकतान्त्रिक अनुभवलाई समाप्त पार्दै देशलाई गृहयुद्धतर्फ धकेल्यो ।







