एजेन्सी, १३ पौष । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राजधानी कीभमा रूसको आक्रमणले मस्को शान्ति चाहँदैन भन्ने देखाएको बताएका छन् । शनिबार शान्ति वार्ताको नयाँ चरण अघि अमेरिकाको यात्रा गर्दै जेलेन्स्कीले यो बयान दिएका हुन् ।
जेलेन्स्कीले आइतबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नेछन् । बैठकमा अमेरिकी र युक्रेनी अधिकारीहरूले तयार पारेको २० बुँदे शान्ति प्रस्तावमा छलफल हुने अपेक्षा गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार, कीभमा करिब १० घण्टासम्म चलेको थियो । मिसाइल र ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ र ३२ जना घाइते भएको बताइएको छ ।
युक्रेनी विकास मन्त्री ओलेक्सी कुलेबाले ऊर्जा पूर्वाधारमा क्षति पुगेका कारण कीभ र वरपरका क्षेत्रका लगभग ४० प्रतिशत आवासीय भवनहरूले तापक्रम गुमाएको बताए। रूसले कीभतर्फ लगभग ५०० ड्रोन र ४० मिसाइल प्रहार गरेको जेलेन्स्कीले टेलिग्राममा भनेका छन् । यी आक्रमणहरूले ऊर्जा पूर्वाधार र नागरिक सुविधाहरूलाई लक्षित गरेको बताइएको छ ।






