एजेन्सी, १८ मंसिर । खान युनिस पश्चिम तर्फको अल-मवासी क्षेत्रमा इजरायली हवाई हमलामा परेर पाँच जनाको मृत्यु भएको छ । मारिएका मध्ये दुई बालक समेत रहेको अधिकारीहरूले जनाएका छन् ।
अधिकारीहरुका अनुसार घटना भएका टेन्टहरू विस्थापित नागरिक बसेको क्षेत्र हो। मृतकमध्ये ४६ र ३० वर्षका दुई महिला, ३६ वर्षीय एक पुरुष, र ८ तथा १० वर्षका दुई बालक रहेका छन्। घाइते ३२ जनाको अस्पतालमा उपचार गरिएको छ।
राहतकर्मीहरूका अनुसार अल–नजात क्याम्पबाट शवहरू बाहिर निकालिएको हो, जहाँ पछिल्ला महिनाहरूमा सयौँ विस्थापित बस्दै आएका छन्।
इजरायली सेनाले यसअघि आफ्ना पाँच सैनिक घाइते भएपछि ‘एक हमास मिलिटेन्टलाई लक्षित प्रहार गरिएको’ दाबी गरेको छ। सेनाको भनाइअनुसार हमासले राफाह क्षेत्रमा तैनाथ इजरायली सैनिकमाथि हमला गरी युद्ध विराम सम्झौताको उल्लङ्घन गरेको थियो।
घटनाका प्रत्यक्षदर्शीहरूले पहिलो विस्फोट अल–मवासीका टेन्ट क्षेत्रमा भएको र त्यसपछि कुवेत अस्पताल नजिकै पनि धमाका सुनेको बताए, जसले आश्रय लिएका परिवारहरूमा त्रास फैलिएको थियो।







