काठमाडौँ, २ मंसिर । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा कर्णाली याक्सविरुद्ध चार विकेटको जित निकालेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १६७ रनको लक्ष्य चितवनले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । शीर्ष क्रमका ब्याटरलाई सस्तैमा गुमाए पनि मध्यक्रमले इनिङ सम्हाल्दा चितवनले जितसहित प्रतियोगिताको सुरुआत गरेको हो ।
चितवनको जितमा रवि बोपाराले सर्वाधिक ५२ रन बनाए । उनले ३६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । नेपाल प्रिमियर लिगमा बोपाराको यो चौथो अर्धशतक हो । बोपाराले यसअघि पहिलो संस्करणमा चितवनकै प्रतिनिधित्व गर्दा तीन अर्धशतक बनाएका थिए ।
१०१–४ को स्थितिबाट बोपाराले पाँचौँ विकेटका निम्ति सैफ जैबसँग ५२ रनको साझेदारी गर्दै चितवनको इनिङ सम्हालेका थिए । जैबले आक्रामक ब्याटिङ गर्दै १६ बलमा दुई चौका र चार छक्कासहित ३८ रन बनाए ।
ओपनर दीपक बोहराले ३६ बलमा ६ चौका र एक छक्कासहित ४२ रन थपे । यस्तै, कप्तान कुशल मल्लले १५ बलमा दुई छक्कासहित २० रन जोडे ।
कर्णालीका कप्तान तथा मार्की सोमपाल कामीले दुई विकेट लिए । युनिस सिंह, मार्क वाट र युवराज खत्रीले समान एक–एक विकेट हात पारे ।
त्यसअघि, टस हारेर ब्याटिङमा आएको कर्णालीले पन्चालको आक्रामक ब्याटिङमा १६६ रनको योगफल खडा गर्यो । कर्णालीले २० ओभर ब्याटिङ गर्दा तीन विकेटमात्रै गुमायो ।
पन्चालले कर्णालीबाट सर्वाधिक ९० रन बनाए । यस क्रममा उनले ४८ बल खेल्दा सात चौका र ६ छक्का प्रहार गरे । यसअघि उनले २८ बलमा अर्धशतक पूरा गरेका थिए । पन्चाललाई १५.४ ओभरमा चितवनका रवि बोपाराले देव खनालबाट क्याच गरे ।
पन्चालले पहिलो विकेटका निम्ति अर्का ओपनर म्याक्स ओ‘डोडसँग ८.५ ओभरमा ६१ रनको साझेदारी गर्दै कर्णालीलाई राम्रो सुरुआत दिलाएका थिए । ओ‘डोडले ३० बलमा एक चौकासहित २० रन थपे । ८.५ ओभरमा चितवनका सैफ जैबले ओ‘डोडलाई बोल्ड गरेका थिए ।
यसपछि पन्चालले दोस्रो विकेटका निम्ति मार्क वाटसँग ६३ रनको साझेदारी गरे । १८.२ ओभरमा सोहेल तान्विरले वाटलाई रिजन ढकालबाट क्याच गराएका थिए । कर्णालीबाट वाटले २१ बलमा एक चौकासहित १६ रन थपे । अविजित रहेका पवन सर्राफ र नजिबुल्लाह जर्दानले क्रमशः २७ र चार रन थपे ।
कर्णालीबाट फितलो बनेको चितवनको बलिङतर्फ सैफ जैब, रवि बोपारा र सोहेल तान्विरले समान एक–एक विकेट लिए ।
प्रतियोगितामा आजै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।






