काठमाडौँ, २७ कार्तिक । अमेरिकाले इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमसँग सम्बन्धित नेटवर्कमाथि कारबाही गर्दै भारतसहित सात देशका ३२ कम्पनी र व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ ।
यी देशहरूमा चीन, हङकङ, संयुक्त अरब इमिरेट्स, टर्की, इरानलगायत छन् । अमेरिकी विदेश विभागले ती संस्था र व्यक्तिहरू इरानको मिसाइल र मानवरहित हवाई वाहन निर्माणमा सहयोग पुर्याउने धेरै अन्तर्राष्ट्रिय आपूर्ति सञ्जालको हिस्सा रहेको बताएको छ ।
यो कदम इरानले आफ्नो परमाणु प्रतिबद्धताहरूको गम्भीर उल्लंघन गरेको प्रतिक्रियामा संयुक्त राष्ट्र संघको पुनः लागु गरिएको प्रतिबन्धलाई समर्थन गर्नका लागि उठाइएको हो ।
प्रतिबन्धित संस्थाहरूमा भारतको फार्मलेन प्राइभेट लिमिटेड पनि समावेश छ, जसले यूएईमा रहेको एक फर्मसँग मिलेर सोडियम क्लोरेट र सोडियम परक्लोरेटजस्ता सामग्रीहरूको आपूर्तिमा मद्दत गरेको आरोप लगाइएको छ ।
अमेरिकी उप–वित्तमन्त्री जोन के हर्लेले इरानले हतियार निर्माणका लागि आवश्यक सामग्री र धन जुटाउनका लागि विश्वव्यापी वित्तीय प्रणालीको दुरुपयोग गरिरहेको बताएका छन् । उनले भने, “राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा हामी इरानको परमाणु खतरा समाप्त गर्न इरानमाथि अधिकतम दबाब सिर्जना गरिरहेका छौँ ।”
अमेरिकी विदेश विभागले उसले तेस्रो देशहरूमा रहेका त्यस्ता संस्थाहरूमाथि पनि कारबाही जारी राख्ने स्पष्ट पारेको छ, जसले इरानको मिसाइल वा ड्रोन कार्यक्रमहरूलाई कुनै पनि रूपमा सहयोग पुर्याइरहेका छन् । विभागले यो कदम क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा कायम राख्नका लागि आवश्यक रहेको बताएको छ । हिन्दुस्तान टाइम्स ।







