एजेन्सी, २४ कार्तिक । चीनले दुर्लभ खनिज अमेरिका निर्यात गर्न लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
आइतबारदेखि नै लागू हुनेगरी चीनले दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध हटाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ ।
चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति निकलेर त्यस्ता प्रतिबन्ध आजैदेखि फुकुवा गरिएको र सन् २०२६ को नोभेम्बरसम्म लागू हुने जानकारी दिएको छ । आजदेखि फुकुवा भएका ग्यालियम, जर्मेनियम, एन्टिमोनी निर्यातमा चीनले सन् २०२४ सालदेखि प्रतिबन्ध लगाएको थियो ।
गएको अक्टोबर ९ मा लागू गरेको दुर्लभ पृथ्वी खनिज तथा लिथियम ब्याट्री सामग्रीमा लगाइएको अतिरिक्त नियन्त्रणहरू भने चीनले अस्ति शुक्रवार नै स्थगित गरेको थियो ।
अमेरिकी सैन्य प्रयोगकर्ताहरू वा सैन्य प्रयोजनका लागि दोहोरो प्रयोग हुने वस्तुहरूको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने पहिलो खण्ड भने यथावत् रहनेछ ।







