एजेन्सी, १३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच बिहीबार ६ वर्षपछि दक्षिण कोरियामा भेटवार्ता भएको छ ।
बुसानमा भएको भेटमा दुवै नेताले हात मिलाएर एकार्कालाई अभिवादन गरेका थिए । त्यसपछि द्विपक्षीय वार्ता सुरु भएको छ । सन् २०१९ पछि उनीहरूबीच यो पहिलो भेट हो ।
ट्रम्पले भने, “सी धेरै कडा वार्ताकार हुनुहुन्छ, यो राम्रो कुरा होइन । हामी एकार्कालाई राम्ररी चिन्छौँ ।” यो भेटवार्ता विश्वका दुई ठूला अर्थतन्त्रबीच जारी व्यापार युद्धलाई कम गर्ने प्रयास हो । वार्तामा व्यापार सम्झौता र ‘ट्यारिफ’बाहेक ताइवानी इलाकामा चिनियाँ सेनाको निरन्तर हस्तक्षेप र अमेरिकामा अवैध फेन्टेनाइल ड्रगको तस्करीको मुद्दा पनि समावेश हुन सक्ने जनाइएको छ ।
ट्रम्पले सीको प्रशंसा गर्दै उनलाई सम्मानित र एक महान् देशको महान् नेता भएको बताए । बुसानको गिम्हे एयरबेसमा ट्रम्पले चिनियाँ राष्ट्रपतिलाई स्वागत गरेका थिए । त्यहाँ उनीहरूबीच भेटवार्ता भइरहेको छ ।
सीले ट्रम्पसँगको भेटअघि युद्ध रोक्ने र शान्ति प्रयासका निम्ति उनको प्रशंसा गरेका थिए । उनले भने, “चीन र अमेरिका धेरै मुद्दामा सधैँ एकै राय नराख्न सक्छन्, तर दुवै देशबीच कुराकानी र मिलेर अगाडि बढ्नु महत्त्वपूर्ण छ ।” सीले चीनको विकास ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’को सोचसँगै अघि बढ्ने बताए । उनले भने, “मैले धेरैपटक भनिसकेको छु– चीन र अमेरिका मित्र र साझेदार हुनुपर्छ । यो इतिहासले पनि प्रमाणित गर्छ र आजको आवश्यकता पनि यही हो ।”
ट्रम्प चीनसँग व्यापार सम्झौता गर्न चाहन्छन् । यो सम्झौतामा अमेरिकी सोयाबिनको खरिद र रेयर खनिजमाथिको प्रतिबन्ध हटाउनेजस्ता मुद्दा समावेश छन् ।







