आगजनी र तोडफोडमा संलग्नलाई कानुनी कठघरामा उभ्याउन ढिलाइ गर्न हुँदैन: मुख्यमन्त्री आचार्य

अर्घाखाँची, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) अर्घाखाँचीले सोमबार आयोजना गरेको बृहत् सद्भाव ¥यालीपछि सन्धिखर्कमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रशासनले कारबाहीमा ढिलाइ गरेको भन्दै ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले भन्नुभयो,‘धैर्यताको बाँध अझै टुटेको छैन । कानुनी शासनमा विश्वास राख्ने हाम्रो मान्यता हो । तर, तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भने धैर्यताको बाँध टुट्नेछ । धैर्यताको बाँध टुटे जनताले नै कारबाही थाल्नेछन् ।’

मुख्यमन्त्री आचार्यले संविधान, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानको रक्षा र राष्ट्रिय एकताका लागि सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुन जरुरी छ ।’ संवोधनका क्रममा एमाले केन्द्रीय सदस्य समेत रहनुभएका आचार्यले अर्घाखाँची अझै पनि एमालेको बलियो किल्ला रहेको र पार्टी संगठन अझ सुदृढ बन्दै गएको बताउनुभयो ।

‘हुल अफ ल’ मुर्दावाद: पोलिटब्युरो सदस्य थापा

एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले जनताको बलमा प्रतिनिधि सभा पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘हामीले दुईवटा निर्णय गरेका छौं । पहिलो, प्रतिक्रान्तिलाई परास्त गर्न जनआन्दोलन र जनशक्तिको बलमा प्रतिनिधि सभा पुनःस्थापना गर्ने । दोस्रो, जनताको शक्तिको बलमा संविधानलाई पुनः लयमा फर्काएर यो देशलाई जनताद्वारा बनाइएको संविधानबाट शासित बनाउने ।’

थापाले अहिलेको परिस्थिति अस्थिर र अराजक रहेको भन्दै संविधानले नचिनेका, जनताले नचिनेका व्यक्तिहरू प्रधानमन्त्री र मन्त्री बनेको बताउनुभयो । उहाँले भन्नुभयो,‘यो रुल अफ ल होइन, यो हुल अफ ल हो । हुल अफ ल मुर्दावाद । हामी कानुनी शासनको पक्षमा छौं ।’

कार्यक्रम नेकपा (एमाले) अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य बोमबहादुर विश्वकर्माले सम्बोधन गर्दै देशमा शान्ति, स्थिरता र कानुनी शासनको अभाव रहेको बताउनुभयो । उहाँले भदौ २३ र २४ गते जेन–जी आन्दोलनको नाममा अराजकता फैलाउने काम भएको भन्दै असंवैधानिक सरकारले जनताको अधिकारमा खेलबाड गरेको आरोप लगाउनुभयो ।
विश्वकर्माले भन्नुभयो,‘निर्वाचन आयोगले फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । हाम्रो पार्टी फेरि उठ्नेछ, फेरि जित्नेछ । तर, शान्ति र सुरक्षाको प्रत्याभूति नहुँदासम्म स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव छैन ।’

संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि निकालिएको उक्त बृहत् सद्भाव ¥यालीमा जिल्लाका विभिन्न स्थानीय तहहरूबाट नेता, जनप्रतिनिधि, कार्यकर्ता, महिला, युवा, विद्यार्थी र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका

काठमाडौँ, १० कार्तिक । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका

काठमाडौँ, १० कार्तिक । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने

काठमाडौँ, १० कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरू बिच आपसी सम्मान, सामाजिक सद्भाव