काठमाडौँ, ३० असोज । आउँदो वर्ष हुने टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सपनाको शुरूवात भएको बताएका छन् ।
छनोटपछि फेसबुकमा लेख्दै उनले सपनाको अन्त्य भएको हैन, शुरूवात भएको प्रतिक्रिया दिएका हुन् । विश्वास र समर्थन गर्ने सबै नेपाली यो खुशीको पलको हकदार भएको उनको भनाइ छ ।
एशिया तथा पूर्वी एशिया प्यासिफिकबाट भइरहेको छनोट खेलमा नेपाल र ओमानले विश्वकप यात्रा सुनिश्चित गरेका हुन् । हिजो भएको खेलमा यूएईले सामोआलाई हराएसँगै २ खेलअघि नै नेपाल र ओमान छनोट भएका हुन् । बाँकी एक स्थानका लागि अब यूएई, कतार र जापानबीच प्रतिस्पर्धा हुनेछ । विश्वकपमा २० टोली खेल्नेछन् । नेपाल लगातार दोस्रोपटक आईसीसी पुरुष टी–२० विश्वकपमा छनोट भएको हो । समग्रमा नेपालले तेस्रोपटक विश्वकप खेल्न लागेको हो ।





