काठमाडौँ, १८ भदौ । ताजिकिस्तानमा आजदेखि सुरु हुने एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानसँग खेल्दै छ ।
ताजिकिस्तानको दुशान्बेस्थित पामिर स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ सवा ८ बजेदेखि सुरु हुनेछ ।
नेपाल रहेको समूह ‘के’मा नेपालसँगै ताजिकिस्तान, फिलिपिन्स र सिरिया छन् । तुलनात्मक रूपमा तीनवटै टोली नेपालभन्दा बलिया छन् ।
नेपाली टोलीका प्रशिक्षक नवीन न्यौपानेले सुरुवातदेखि नै जित निकाल्दै ३ अंक हासिल गर्ने लक्ष्य भएको बताएका छन् ।
राष्ट्रिय टिमका मिडफिल्डर आयुष घलानको कप्तानीमा रहेको नेपाली टोलीमा राष्ट्रिय टोलीबाट खेलेका कृतिश रत्न छुन्जु र सुमित श्रेष्ठ पनि छन् ।
नेपालले सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ ।






