अमेरिकी भिसा नियममा कडाइ गरिँदै

एजेन्सी, १३ भदौ । अमेरिकी सरकारले विदेशी विद्यार्थी, सांस्कृतिक आदानप्रदान कार्यक्रमका सहभागी हुने व्यक्ति र पत्रकारहरूलाई लक्षित गरी नयाँ भिसा नियम ल्याउने तयारी गरेको छ ।

यसले उनीहरूको अमेरिका बसाइको अवधि सीमित गर्ने बताइएको छ । अमेरिकी गृह सुरक्षा विभागले बुधबार सार्वजनिक गरेको एक प्रस्तावित नियमअनुसार, ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूको भिसा अवधि चार वर्षमा सीमित गर्ने तयारी गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी होमल्यान्ड सुरक्षा विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ट्रम्प प्रशासनले एक प्रस्तावित नियम घोषणा गरेको छ, जसले विदेशी विद्यार्थीसहित केही भिसा बाहकहरूले अमेरिकामा बस्न पाउने अवधि घटाउनेछ । यस नियमले भिसाको दुरुपयोग रोक्नुका साथै यस्ता व्यक्तिहरूलाई उचितरूपमा जाँच र निगरानी गर्ने गृह सुरक्षा विभागको क्षमतालाई सुदृढ पार्नेछ ।”

नयाँ प्रस्तावअनुसार, विदेशी विद्यार्थी ‘एफ’ भिसा र सांस्कृतिक आदानप्रदानमा सहभागी ‘जे’ भिसालाई बढीमा चार वर्षको भिसा दिइनेछ । त्यसैगरी, विदेशी पत्रकारलाई दिइने ‘आई’ भिसाको अवधि २४० दिनमा सीमित गरिन लागिएको बताइएको छ । यद्यपि, यसलाई पछि थप गर्न सकिनेछ ।

हालको व्यवस्थाअनुसार, विदेशी विद्यार्थीहरूलाई ड्युरेसन अफ स्टेटस (अध्ययन अवधिभर)को आधारमा अमेरिकामा बस्न अनुमति दिइएको छ । जसअन्तर्गत उनीहरूको अध्ययन कार्यक्रम नसकिँदासम्म बस्न पाउँछन् । पढाइपछि उनीहरू ओपीटी कार्यक्रममार्फत एच–वानबी भिसामा प्रवेश गर्छन् । ट्रम्प प्रशासन यस बाटोलाई पनि सीमित गर्ने प्रयासमा छ ।

तर, प्रस्तावित नयाँ नियमले यस व्यवस्थालाई प्रतिस्थापन गर्ने लक्ष्य राखेको छ । यस व्यवस्थाले स्थायी विद्यार्थी सिर्जना गरिरहेको र नयाँ नियमले भिसा बाहकहरूको निगरानी गर्न सजिलो बनाउँदै दुरुपयोग रोक्ने ट्रम्प प्रशासनको दाबी छ ।

ठूलो संख्यामा अमेरिकामा विद्यार्थी स्नातकोत्तर र पीएचडी गर्न जाने गरेका छन् । यसका लागि चार वर्षभन्दा बढी समय लाग्न सक्छ । नयाँ नियम लागु भएमा उनीहरूले भिसा नवीकरणका लागि छुट्टै आवेदन दिनुपर्ने हुन्छ ।

यस निर्णयले अमेरिकामा अध्ययन तथा काम गर्ने नागरिक र आईटी कम्पनीहरूमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ । यो नियमसँगै अमेरिकामा एच–वानबी र ग्रिन कार्ड प्रणाली परिवर्तन गरिने र केवल उत्कृष्ट प्रतिभालाई मात्र आकर्षित गर्ने नीति ल्याउने लागेको पनि बताइएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर