काठमाडौँ, ९ भदौ । रुस र युक्रेनले संयुक्त अरब इमिरेट्सको मध्यस्थतामा फेरि १४६–१४६ जना युद्धबन्दी साटासाट गरेका छन् ।
रुसी रक्षा मन्त्रालयले आइतबार टेलिग्राममार्फत जानकारी दिँदै भन्यो, ‘अगस्ट २४ मा, १४६ रुसी सैनिकहरूलाई युक्रेन नियन्त्रण क्षेत्रबाट फर्काइयो । यसको बदलामा १४६ युक्रेनी सशस्त्र फौजका युद्धबन्दीहरूलाई युक्रेन पठाइयो।’ मुक्त भएका रुसी बन्दीहरू अहिले बेलारुसमा मनोवैज्ञानिक र चिकित्सकीय उपचार गराइरहेका छन् ।
यो वर्ष मात्रै सयौँ युद्धबन्दीहरू विभिन्न चरणमा साटासाट भइसकेका छन्। इस्तानबुलमा मेदेखि जुलाईसम्म भएको तीन चरणको वार्ताबाट यही कैदी आदानप्रदान नै सबैभन्दा ठोस परिणाम बनेको थियो ।
रुसले युक्रेनले अवैध रूपमा नियन्त्रणमा राखेका आफ्नो कुर्स्क क्षेत्रका ८ नागरिकलाई पनि यस पटक मुक्त गरिएको जनाएको छ ।







