एजेन्सी, ६ भदौ । कोलम्बियाको शहर कालीमा भएको कार बम विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।
स्थानीय प्रहरीका अनुसार यो आक्रमण मार्को फिदेल सुवारेज मिलिटरी एभिएशन स्कूललाई लक्षित गरेर गरिएको थियो ।बीबीसीका अनुसार, विस्फोटका कारण वरपरका धेरै भवनहरूमा समेत क्षति पुगेको छ ।
कालीका मेयर आलेखान्द्रो एडरले आक्रमणको निन्दा गर्दै घटनाको दोषी बारे जानकारी दिने व्यक्तिलाई ४० करोड डलरको पुरस्कार दिने घोषणा गरेका छन् ।
सुरक्षालाई ध्यानमा राख्दै उनले धेरै भवन र विद्यालय खाली गर्न आदेश दिएका छन् र शहरमा ठूला ट्रकको प्रवेशमा प्रतिबन्ध लगाएका छन् । यसअघि बिहीबार उत्तर–पश्चिमी शहर मेडेलिन नजिकैको ग्रामीण क्षेत्रमा प्रहरी हेलिकप्टरमाथि भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।







