त्रिविमा अखिल क्रान्तिकारीको ‘गुन्डागर्दी’

काठमाडौँ, २८ साउन । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लामो समय नेविसंघले ‘गुन्डागर्दी’ गर्दै आएकामा अहिले अखिल क्रान्तिकारीले पनि तोडफोड र अवरोध सुरु गरेको छ ।

दीपक अर्याल उपकुलपति भएयता माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारी ‘गुन्डागर्दी’ मा उत्रिएको हो । क्रान्तिकारीको तोडफोड र पदाधिकारीलाई अवरोध जारी रहेपछि त्रिवि प्रशासनले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेख्दै सुरक्षा माग गरेको छ ।

क्रान्तिकारीले उपकुलपति अर्यालसहित रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाललाई कार्यालय आउजाउमा अवरोध गरेका छन् । क्रान्तिकारीले सोमबार रेक्टर र रजिस्ट्रार कार्यालयमा तोडफोड गरी क्षतिसमेत पुर्‍याएका थिए । केन्द्रीय विभागमा समायोजन भएका ४ वटा विभागको शुल्क घटाउन माग राख्दै क्रान्तिकारीले २० दिनयता उपकुलपति कार्यालयमा धर्ना दिँदै आएको छ ।

कार्यकक्षको ढोकामै धर्ना दिएपछि उपकुलपति अर्याल कार्यालय आउन छाडेका छन् । सोमबार तोडफोड गरी फर्केका विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । त्यस क्रममा क्रान्तिकारी जिल्ला इन्चार्ज ममता जोशी र सुशील नेपाली घाइते भएको केन्द्रीय अध्यक्ष विजयप्रकाश सापकोटाले बताए । तोडफोडमा संलग्नलाई प्रहरीले पक्राउ गरे पनि सोमबार साँझ नै छाडेको थियो ।

क्रान्तिकारीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, द्वन्द्व–शान्ति र विकास अध्ययन, सामाजिकशास्त्र र लैंगिक केन्द्रीय विभागको शुल्क समायोजन गर्नुपर्ने माग राखेको छ ।

उपकुलपति कार्यालयमा धर्ना भए पनि रेक्टर र रजिस्ट्रार कार्यालय तोडफोड हुनुलाई त्रिविका प्राध्यापकले शंकास्पद रूपमा हेरेका छन् । शैक्षिक माग देखाए पनि भित्री रूपमा क्रान्तिकारीले पदाधिकारीमा भागबन्डा चाहेको जानकारहरूको भनाइ छ । रेक्टर र रजिस्ट्रारमध्ये एक पद माओवादीले पाउनुपर्ने भन्दै स्वार्थ समूहले दबाब दिँदै आएका छन् । क्रान्तिकारीलगायत दलनिकट संगठनले छिट्टै रिक्त हुन लागेको परीक्षा नियन्त्रक, कानुन संकायको डिन, विद्यालय कल्याण, अनुगमन र अन्तर्राष्ट्रिय निर्देशनालय प्रमुख दाबी गर्दै दबाब बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष