पोर्ट सुडान, २६ साउन । सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका कारण केवल एक साताभित्र ६३ जनाको ज्यान गएको छ । तीमध्ये अधिकांश महिला र बालबालिका रहेको एक स्वास्थ्य अधिकारीले आइतबार जानकारी दिएका छन् ।
आधिकारिक विवरणअनुसार, यो सङ्ख्या केवल अस्पतालसम्म पुर्याइएका बिरामीहरू मात्र हो । कमजोर सुरक्षाका कारण र सवारीसाधन नहुँदा थुप्रै परिवारले आफ्ना मृत आफन्तलाई उपचार नदिई गाडेका छन् ।
गत वर्षको जेठदेखि एल–फाशेर अर्धसैनिक समूह द्रुत सहायता बल (आरएसएफ) को घेराबन्दीमा परेको छ । सो समूह सुडानको नियमित सेनासँग विसं २०८० को वैशाखदेखि युद्धरत छ । एल–फाशेर डारफुर क्षेत्रको सेनाको नियन्त्रणमा रहेको अन्तिम ठुला सहरहरूमध्ये एक हो । राजधानीबाट फिर्ता भएपछि सो समूहले हालै फेरि आक्रमण बढाएको छ ।






