युक्रेनको प्रमुख सहर कब्जा गरेको रुसको दाबी

एजेन्सी, १६ साउन । रुसले पूर्वी युक्रेनको चासिव–यार सहर आफ्नो सेनाले कब्जा गरेको दाबी गरेको छ । त्यहाँ करिब १८ महिनादेखि लडाइँ चलिरहेको थियो ।

युक्रेनले रुसी सेनाले चासिव–यारनजिकका स्थानमा आक्रमण गरेको पुष्टि गरेको छ । यो सहर बखमुतबाट केही माइल पश्चिममा अवस्थित छ । तर, युक्रेनले सहर गुमाएको अस्वीकार गरेको छ । “चासिव–यार अझै ११औँ आर्मी कोरको नियन्त्रणमा छ,” कोरले बिहीबार भनेको छ ।

रुसी रक्षा मन्त्रालयले ड्रोन फुटेज सार्वजनिक गर्दै आफ्ना सैनिक सहरका केही भागमा पुगेका र चार हजार २०० भन्दा बढी भवन र संरचना खाली गराइएको साथै करिब ५० युक्रेनी सैनिकलाई बन्दी बनाइएको जनाएको छ ।

चासिव–यारमा युद्धपूर्व जनसंख्या १२ हजार थियो । तर, दुई वर्षदेखि जारी हवाई र स्थल आक्रमणबाट सहर ध्वस्त भएको छ ।

रुसी सेनाले गत वर्ष अप्रिलमा बखमुतबाट युक्रेनी सैनिकलाई बाहिर धकेलेपछि चासिव–यारमा आक्रमण थालेको थियो ।युक्रेनको ओपन–स्रोत म्यापिङ साइट ‘डीपस्टेट’ले युद्धको अग्रमोर्चामा किभका सैनिक अझै सहरको पश्चिमी किनारमा रहेको देखाएको छ ।

रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको भिडियोमा दुई छिमेकी क्षेत्रमा झन्डा गाडिएको देखाइए पनि उक्त भूभाग रुसको नियन्त्रणमा नरहेको डीपस्टेटले जनाएको छ । दाबी पुष्टि भए चासिव–यारको कब्जाले रुसी सेनालाई उच्च भूभाग उपहार मिल्नेछ । र, डोनेत्स्क क्षेत्रका स्लोभियान्स्क, क्रामातोस्र्क र कोस्तियान्तिनिभ्काजस्ता युक्रेनका सहरबाट आउन सक्ने खतरा झेल्न सहज हुन्छ ।

यी सहरमा रुसी मिसाइल र विमानबाट प्रक्षेपित ग्लाइड बमले समय–समयमा आक्रमण गर्ने क्रम जारी छ । बिहीबार क्रामातोस्र्कमा गरिएको आक्रमणमा एउटा पाँचतले भवनको केही भाग ध्वस्त हुँदा एकजनाको मृत्यु भएको छ । करिब एक दर्जन मानिस घाइते भएका स्थानीय सैन्य प्रशासनले जनाएको छ ।

डोनेत्स्क क्षेत्रभरि रुसी सेनाले यो वर्ष भारी हताहतका बाबजुद अग्रसरता जारी राखेको छ । रणनीतिक सहर पोक्रोभ्स्क तीनतर्फबाट घेरिएको छ । र, रुसी सैनिक डोनेत्स्क र डिनिप्रोपेट्रोभ्स्क क्षेत्रको सीमासम्म पुगेका छन् । विश्लेषकका अनुसार, रुसी सेनाले आफ्नो रणनीति परिवर्तन गर्दै युक्रेनी ड्रोन रक्षालाई छल्न पैदल वा मोटरबाइकमा साना समूहमा अघि बढ्ने तरिका अपनाएको छ । सीएनएन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ ।

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन निवेदन दिन सकिनेछ ।  मंगलबार

काठमाडौँ, २१ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा