एजेन्सी, १६ साउन । भारतमा २५ प्रतिशत भन्सार शुल्क लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मौखिक आक्रमणलाई निरन्तरता दिएका छन् ।
भारत–रूस सम्बन्धप्रति आक्रोशित ट्रम्पले अब दुवै देशको अर्थव्यवस्था ‘मृत’ भएको बताएका छन् । उनले भने, “भारत र रूसले आफ्नो ‘मृत’ अर्थव्यवस्थालाई ध्वस्त गरून्, मलाई कुनै फरक पर्दैन ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे, “भारतले रूससँग जे गर्छ, त्यसले मलाई कुनै फरक पर्दैन । उनीहरूले मिलेर आफ्नो मृत अर्थव्यवस्थालाई कसरी ध्वस्त गर्छन्, मलाई त्यसको मात्र चासो छ । हामीले भारतसँग धेरै कम व्यापार गरेका छौँ । उनीहरूको भन्सार कर धेरै छ, विश्वमै सबैभन्दा उच्च । त्यसैगरी, रूस र अमेरिकाबीच पनि लगभग कुनै व्यापार हुँदैन । यो यस्तै रहोस् ।”
ट्रम्पले रूसका पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवमाथि पनि आक्रमण गरे । उनले भने, “रूसका असफल पूर्वराष्ट्रपति मेदवेदेव आफूलाई अझै राष्ट्रपति ठान्छन् । उनले आफ्नो कुरामा ध्यान दिनुपर्छ । उनी धेरै खतरनाक क्षेत्रमा प्रवेश गरिरहेका छन् ।”
यसअघि, अमेरिकी राष्ट्रपति ट्रम्पले भारतमाथि अगस्त १ देखि २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए ।
उनले सामाजिक सञ्जालमा लेखेका थिए, “याद गर्नुस्, भारत हाम्रो मित्र हो, तर पछिल्ला केही वर्षमा हामीले उसँग तुलनात्मक रूपमा कम व्यापार गरेका छौँ किनभने उसको भन्सार कर धेरै छ, विश्वमै सबैभन्दा उच्च, र कुनै पनि देशको तुलनामा उसको गैर–मौद्रिक व्यापार प्रतिबन्धहरू सबैभन्दा कडा र अप्रिय छन् । त्यसबाहेक, उनीहरूले आफ्ना अधिकांश सैन्य उपकरणहरू रूसबाट खरिद गर्छन् र चीनसँगै उनीहरू रूसका सबैभन्दा ठूला ऊर्जा खरिदकर्ता हुन्, यस्तो समयमा जब सबैले रूसलाई युक्रेनमा हत्याहरू रोक्न चाहन्छन् । सबै कुरा ठीक छैन ! त्यसैले भारतले अगस्त १ देखि २५ प्रतिशत भन्सार कर र माथिका कुराहरूका लागि जरिवाना तिर्नुपर्नेछ ।”







