एजेन्सी, ७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार उनलाई चीनका राष्ट्रपति शी जिनपिङले भ्रमणको लागि निम्तो दिएको बताएका छन । साथै उनी चाँडै चीन जान सक्ने बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “राष्ट्रपति शीले मलाई चीन आउन निम्तो दिएका छन्। हामी सायद धेरै चाँडै त्यहाँ जानेछौँ ।”
मिडिया रिपोर्टहरूका अनुसार, डोनाल्ड ट्रम्प र शी जिनपिङका सहयोगीहरूबीच यो वर्षको अन्त्यमा सम्भावित भेटघाटको विषयमा कुराकानी भइसकेको छ । यो भ्रमण ट्रम्पको एसिया भ्रमणको क्रममा हुन सक्छ । राष्ट्रपति ट्रम्पले उनी चीनसहित धेरै अन्तर्राष्ट्रिय मुद्दाहरूमा कुराकानी गर्न तयार भएको पनि बताएका छन् ।
यद्यपि, उनले भ्रमणको ठोस मिति भने खुलाएनन् । यो भेट यस्तो समयमा हुन लागको छ जब ट्रम्पले हालका हप्ताहरूमा चीनप्रति केही नरमपन देखाएका छन् ।
उनले अमेरिका र चीनबीच चलिरहेको ट्यारिफ (कर) युद्धलाई हाललाई रोकेका छन् । यसले विश्व व्यापार र आपूर्ति शृङ्खलामा केही राहत देखिएको छ ।
यता, चीनबाट पनि सम्बन्ध सुधार्ने संकेतहरू प्राप्त भएका छन्। गत शुक्रबार चीनका वाणिज्य मन्त्री वाङ वेनताओले उनको देशले अमेरिकासँग व्यापारिक सम्बन्धलाई स्थिर आधारमा ल्याउन चाहेको बताएका थिए ।







