काठमाडौँ, ४ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरू चलचित्र महाभोज हेर्न सिटी सेन्टर पुगेका छन् ।
प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल तथा समाजवादी मोर्चाका नेताहरू आज साँझ ५ बजेको शो हेर्न काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिज पुगेका हुन् । माओवादीका जनवर्गीय सङ्गठनका नेताहरू र समाजवादी मोर्चाका अन्य नेता–कार्यकर्ताहरू पनि उनीहरूका साथमा थिए ।
उपत्यका जनसम्पर्क तथा सांस्कृतिक अभियान अन्तर्गत जनसांस्कृतिक महासङ्घ, नेपाल, बागमती प्रदेशको आयोजनामा चलचित्र महाभोज को विशेष प्रदर्शन गरिएको हो ।
दिनेश राउतले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, बुद्धि तामाङ, अञ्जना बराइली, मल्लिका महत, गौमाया गुरुङ, बसुन्धरा भुसाललगायत कलाकारहरूको अभिनय रहेको छ ।






