काठमाडौँ, ३ साउन । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभीएल) को दोस्रो सिजनका लागि कर्णाली एसभीएसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ ।
कर्णाली एसभीएसका व्यवस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबिच शनिबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
कर्णाली एसभीएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको बताए । त्यस्तै महानायक हमालले कर्णाली एसभीएसले नेपाली महिला खेलाडीहरुलाई हौसला प्रदान गर्ने अवसर दिनु भएकोमा खुसी व्यक्त गरे ।
हमालले आफूले पनि जीवनका विभिन्न चरणमा भलिबल खेलेको स्मरण गर्दै भने भलिबल एउटा राष्ट्रिय खेल हो । यसका माध्यमबाट हाम्रा चेलीहरूले विश्वमा एउटा छुट्टै स्थान बनाउन सक्नेछन् । हमालले गत वर्षको च्याम्पियन टोली कर्णाली एसभीएसले यो वर्ष पनि बाजी मार्ने विश्वास व्यक्त गरे ।
दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ ।






