काठमाडौँ, ३० असार । मीनबहादुर भामले निर्देशन गरेको ‘शाम्बाला’ ले वर्षको उत्कृष्ट चलचित्र पुरस्कार पाएको छ ।
चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपति कार्यालय शीतल निवासमा भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८१’ वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभएको हो । उत्कृष्ट निर्देशकको पुरस्कार पनि भामले नै पाएका छन् ।
यस्तै नेपाली चलचित्रको इतिहासमै सबैभन्दा धेरै कमाउने ‘पूर्णबहादुरको सारङ्गी’ बाट विजय बरालले उत्कृष्ट अभिनेता र ‘खुस्मा’ बाट उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेतीको पुरस्कार जितेका छन् ।
यस्तै ‘पुजार सार्की’ बाट भरत रेग्मीले उत्कृष्ट सम्पादक, ‘पिताम्बर’ बाट पुरुषोत्तम प्रधानले उत्कृष्ट छायाँकार, ‘छक्कापञ्जा ५’ बाट दीपकराज गिरीले उत्कृष्ट लेखन, नेपाल भाषाको ‘गालय् वान’ ले उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रको पुरस्कार जितेका छन् ।






