एजेन्सी, १८ असार । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले अहिले देखा परेको अत्यधिक गर्मी अझै बढ्ने सम्भावना रहेको बताएको छ ।
यस्तो तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय तयार रहनुपर्ने राष्ट्रसङ्घको सुझाव छ । विश्व मौसम सङ्गठनका प्रवक्ता क्लेर नलिसले उत्तर गोलार्द्धमा जुलाइ महिनातिर सामान्यतया अत्यधिक गर्मी हुने गरेको जानकारी दिएका छन् । तर यसपटक गर्मीयामको शुरुमा नै यस्तो तीव्र तापक्रम देखिनु असाधारण अवस्था रहेको उनको भनाइ छ । उनले अत्यधिक गर्मीलाई शान्त तर घातक भन्दै यसबाट हुने मानवीय क्षति आँधी वा वर्षाजस्ता अन्य प्राकृतिक प्रकोपजत्तिकै गम्भीर हुन सक्ने चेतावनी दिए ।
पश्चिमी युरोप अहिले उच्च वायुमण्डलीय दबाबको प्रभावमा रहेको र यसले उत्तर अफ्रिकाबाट आएको तातो हावालाई क्षेत्रमै थुनिएको अवस्था रहेको जानकारी दिँदै प्रवक्ताले यसले मानिसको दैनिक व्यवहार र स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको बताएका छन् ।






