एजेन्सी, १७ जेठ । इजरायल र हमासबीच अमेरिकाले राखेको युद्धविराम प्रस्तावलाई इजरायलले स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तर, हमासले भने उक्त प्रस्तावबारे अध्ययन गरिरहेको प्रतिक्रिया दिएको छ । त्यसो त युद्धविरामका लागि राखिएका प्रस्ताव इजरायलको पक्षमा रहेको भन्दै हमासका प्रतिनिधिले प्रारम्भिक प्रतिक्रिया जनाएको बताइएको छ ।
अमेरिकी प्रस्ताव स्वीकार गरेको बारेमा भने इजरायलले कुनै प्रतिक्रिया जनाएको छैन । तर, ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले भने इजरायलले प्रस्तावलाई अनुमोदन गरेको दाबी गरेकी छन् ।
रोयटर्सका अनुसार मस्यौदामा ६० दिनको युद्धविराम प्रस्ताव गरिएको छ । जसअन्तर्गत पहिलो साता जीवित र मृत गरी २८ इजरायली बन्धकलाई हमासले मुक्त गर्नेछ । त्यसको बदलामा इजरायलका तर्फबाट आजीवन कारावास सजाय सुनाइएका १२५ प्यालेस्टिनी कैदीलाई रिहा र हमलामा मारिएका १८० प्यालेस्टिनीको अवशेष हस्तान्तरण गरिने मस्यौदामा उल्लेख छ ।
पछिल्लो प्रस्तावमा युद्धविराम गर्न सहमत भएको खण्डमा गाजामा सहायता सामग्री आपूर्ति पनि सहज हुने बताइएको छ ।
रोयटर्ससँगको कुराकानीमा प्यालेस्टिनी लडाकु समूह हमासका वरिष्ठ अधिकारी साम अबु जुहरीले युद्धविराम प्रस्तावमाथि अध्ययन र छलफल भइरहेको बताएका छन् ।







