एजेन्सी, ३० वैशाख । अमेरिकासहितका मुलुकको मध्यस्थतामा युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप लगाएका छन् ।
भारतीय समयअनुसार सोमबार बेलुकी ८ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदी पाकिस्तानविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए ।
उनले भने, ‘हामी आतंककारीको संरक्षक सरकार र आतंककारीको आँखालाई अलग–अलग रुपले हेर्ने छैनौं,’ ‘पाकिस्तानको फौज र पाकिस्तानको सरकारले जुन तरिकाले आतंकवादलाई प्रश्रय दिइरहेको छ, त्यसले एक दिन पाकिस्तानलाई नै समाप्त गर्छ ।’
पाकिस्तानलाई यदी बच्नुछ भने उसले त्यहाँ भएका आतंकको संरचनालाई ध्वस्त गर्नुपर्ने उनले बताए । ‘यसबाहेक शान्तिको कुनै बाटो छैन, भारतको मत एकदम स्पष्ट छ: आतंकवाद र संवाद एकसाथ हुँदैन,’ मोदीले भने, ‘आतंकवाद र व्यापार एकसाथ चल्न सक्दैन । पानी र रगत पनि एकसाथ बग्न सक्दैन ।’







