एजेन्सी, १८ वैशाख । अमेरिका र युक्रेनले आर्थिक साझेदारी सम्झौता गरेका छन् । जसमा अमेरिकाले युक्रेनका दुर्लभ खनिजमा पहुँच प्राप्तीसँगै युक्रेनमा लगानी कोष स्थापना सम्झौता भएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गएको जनवरीमा फेरि ह्वाइट हाउस फर्किएपछि दुई देश बीच स्रोतसम्बन्धी सम्झौता गर्न वार्ता भइरहेको थियो ।
केही हप्ता लामो वार्तापछि यो सम्झौता गरिएको हो । यसअघि युक्रेन अमेरिकाबीच तनाव उत्पन्न भई अमेरिकी सहायतासमेत रोकिएको थियो ।
अमेरिकी ट्रेजरी विभागले हिजो सम्झौताको घोषणा गर्दै ट्रेजरी सचिव स्कट बेसन्टले अमेरिका यो निरर्थक युद्ध अन्त्य गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
यो सम्झौताले रुसलाई ट्रम्प प्रशासन स्वतन्त्र, सार्वभौम र समृद्ध युक्रेनका लागि दीर्घकालीन शान्ति प्रक्रियामा प्रतिबद्ध छ भन्ने सन्देश दिएको समेत बताउनुभएको छ ।
युक्रेनकी अर्थमन्त्री युलिया स्विरीडेन्कोले वासिङ्टनमा यो सम्झौतामा युक्रेनी सरकारको तर्फबाट हस्ताक्षर गर्नुभएको तस्वीरहरु सार्वजनिक भएका छन ।







