एजेन्सी, १६ वैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिनको लागि अस्थायी युद्धविरामको घोषणा गर्नु भएको छ ।
रुसका अनुसार यो युद्धविराम आउँदो ‘मे’ ८ तारिखदेखि शुरू हुनेछ र ‘मे’ ११ सम्म रहनेछ ।
पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसका अवसर पारेर कम्तीमा ७२ घण्टाका लागि अस्थायी युद्धविरामको घोषणा गर्नुभएको हो ।
युक्रेनले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको मस्कोलाई उदधृत गरी अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै, युद्धविराम उल्लङ्घनका घटना भएमा जवाफ दिन तयार रहेको पनि रुसी प्रशासनिक केन्द्रले जनाएको छ ।
पुटिनले इस्टरको अवसरमा यसअघि पनि अस्थायी युद्धविरामको घोषणा गर्नुभएको थियो । तर त्यसबेला एकअर्काविरुद्ध आक्रमण भएको दुवै पक्षले आरोप लगाएका थिए ।







