वासिङ्टन डीसी, १२ बैशाख । अमेरिकी राज्य क्यालिफोर्निया विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको छ ।
त्यहाँका गभर्नर ग्याभिन न्यूसमले बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफएफ) र अमेरिकाको आर्थिक विश्लेषण विभागको डेटालाई देखाउँदै यस्तो भनेका हुन् ।
डेटाका अनुसार क्यालिफोर्नियाको जीडीपी २०२४ मा ४१ खर्ब डलर पुगेको छ । सो अवधिमा जापानको जीडीपी ४० खर्ब १० अर्ब डलर थियो । यसको अर्थ क्यालिफोर्नियाभन्दा अगाडि अब जर्मनी, चीन र अमेरिका छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार साझेदार मुलुकहरूमाथि लगाएको ट्यारिफ विरुद्ध बोल्दै गर्दा न्यूसमले राज्यको अर्थतन्त्रबारे चिन्ता व्यक्त गरेका थिए । अमेरिकामा सबैभन्दा ठुलो औद्योगिक र कृषि उत्पादन क्यालिफोर्नियामा छ ।







