एजेन्सी, २२ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सबै विदेशी वस्तुमा उच्च भन्सार शुल्क घोषणा गरेका छन् । ट्रम्पको नयाँ घोषणामा नेपालसहित १ सय ८५ मुलुकको व्यापार प्रभावित हुने भएको छ ।
ट्रम्पले नेपाललाई १० प्रतिशत भन्सार शुल्क लाग्ने देशको सूचीमा समावेश गरेका छन् । हाल नेपालले सयभन्दा बढी वस्तु शून्य भन्सारमा अमेरिका निर्यात गर्दै आएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/८१ मा नेपालबाट १७ अर्ब ३१ करोड बराबरका उत्पादन अमेरिका निर्यात भएको थियो । त्यस्तै, चालु वर्षको फागुनसम्ममा ११ अर्ब ३७ करोड बराबरको वस्तु अमेरिका निर्यात भएको छ ।
नयाँ घोषणा अनुसार सिंगापुर, ब्राजिल, अस्ट्रेलिया, न्यूजिल्याण्ड, टर्की, कोलम्बिया, यूएई, साउदी अरब, नेपालजस्ता मुलुकका सामानमा समान १० प्रतिशत भन्सार महशुल थप हुनेछ । यो घोषणा आगामी ५ अप्रिलबाट कार्यान्वयनमा आउनेछ ।
यतिमात्रै होइन, ट्रम्पले अरु केही मुलुकका सामानमा अनपेक्षित रुपमा अत्यधिक भन्सार महशुल वृद्धि गरेका छन् । दक्षिणी अफ्रिकी लेसोथोका सामानमा सर्वाधिक ५० प्रतिशत भन्सार महशुल लगाउने उनको घोषणा छ ।
त्यस्तै, उनले युरोपेली युनियनका सामानमा २० प्रतिशत, चिनियाँ सामानमा यसअघिको महशुल समेत गरी कुल ५४ प्रतिशत, भियतनामका सामानमा ४६ प्रतिशत, थाइल्याण्डका सामानमा ३६ प्रतिशत, जापानका सामानमा २४ प्रतिशत, कम्बोडियाका सामानमा ४९ प्रतिशत, बंगलादेशका सामानमा ३७ प्रतिशत भन्सार महशुल लगाउने घोषणा गरेका छन् ।
त्यसैगरी, श्रीलंकाका सामानमा ४४ प्रतिशत, दक्षिण अफ्रिकाका सामानमा ३० र ताइवानबाट आयात हुने सामानमा ३० प्रतिशत भन्सार महसुल वृद्धि गर्ने ट्रम्पको घोषणा छ । यी मुलुकमाथि लगाइएको महशुल वृद्धि आगामी ९ अप्रिलदेखि कार्यान्वयनमा आउनेछ ।
ट्रम्पले रुस, उत्तर कोरिया, क्युबा, बेलारुसजस्ता अमेरिकाका परम्परागत रुपमा राम्रो सम्बन्ध नभएका मुलुकमाथि कुनै शुल्क लगाएका छैनन् । ट्रम्पको नयाँ घोषणा यतिसम्म उदेकलाग्दो छ कि केबल २ हजार मानिसहरुको बसोबास रहेको एउटा टापुमाथि समेत उत्यासलाग्दो भन्सार महशुल लगाएका छन् ।
अस्ट्रेलियाको पूर्वी भेगतिर पर्ने नोरफोक टापुमा केबल २ हजार मानिसको बसोबास छ । अस्ट्रेलियाकै प्रशासन मातहत रहेको यो टापुमा ट्रम्पले २९ प्रतिशत भन्सार शुल्क वृद्धि गर्ने घोषणा गरेका छन् । यतिमात्रै होइन, कोही मान्छेको बसोबास नभएको, पेन्गुनमात्रै पाइने टापुलाई पनि ट्रम्पले बाँकी राखेका छैनन् । सुदूर दक्षिणी हिन्द महासागरमा हेर्ड र म्याकडोनाल्ड टापु अवस्थित छ । यो पनि अस्ट्रेलियाकै मातहतमा छ । यहाँ स्थायी रुपमा कोही बस्दैन । केबल पेन्गुइन मात्रै पाइन्छ । ट्रम्पले यो टापुलाई पनि १० प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन् ।
यति हुँदा हुँदै पनि ट्रम्पले यस पटक भने मेक्सिको र क्यानाडामाथि महशुल वृद्धि गरेका छैनन् । त्यसबाहेक ट्रम्पले विदेशमा निर्मित सबै अटोमोबाइल उत्पादनमा थप २५ प्रतिशत भन्सार महशुल वृद्धि हुने र त्यो तत्काल कार्यान्वयनमा आउने घोषणा गरेका छन् ।







