काठमाडौँ, ९ फागुन । फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन् ।
इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर नेपाल आउन लागेका हुन् ।
केपी ओली कपको आयोजक राष्ट्रिय युवा संघ नेपालका अनुसार कपको तेस्रो संस्करण यही फागुन ११ देखि १९ गतेसम्म हुनेछ । त्यस प्रतियोगिताको फाइनल खेल दौरान बफोन काठमाडौँमा आउने लागेका हुन् ।
बफोन नेपाल आए उनी नेपालमा आउने विश्व फुटबलकै ठूला नाम हुनेछन् । सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका थिए ।






