एजेन्सी, २७ पौष । पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार खानी कामदारको मृत्यु भएको छ । फसेका आठ जनाको उद्धार गर्ने प्रयास जारी रहेको एआरवाई न्यूजले जनाएको छ ।
एआरवाई न्यूजका अनुसार २७ घण्टाभन्दा बढी समयदेखि उद्धार कार्य जारी रहेको छ । अधिकारीहरूले फसेका खानीमा पुग्न अथक प्रयास गरिरहेका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले खानीबाट थप तीन शव निकालिएको पुष्टि गरेसँगै बरामद हुने शवको कुल सङ्ख्या चार पुगेको छ ।
घटना बिहीबार स्थानीय समय अनुसार ४ः ०० बजे भएको थियो, जब ग्यास विस्फोटको कारण कोइला खानीको एक भाग भत्किएको थियो, जसमा १२ जना कामदार भित्र फसेका थिए । एआरवाई न्यूजले रिपोर्ट गरेको अनुसार फसेका कामदारहरू लगभग चार हजार ३०० फिट जमिनमुनि रहेको विश्वास गरिन्छ ।






