काठमाडौँ, २५ मंसिर । बलिङमा विलियम बोसिस्टो र ब्याटिङमा गुल्सन झा चम्किएपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको सहज जित निकालेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । प्रतियोगितामा पाँचौँ खेल खेलेको कर्णालीको यो तेस्रो जित हो । कर्णाली प्रतियोगिताको पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो ।
कर्णालीले तेस्रो खेलमा भने चितवन राइनोजविरुद्ध ६ विकेटको र चौथो खेलमा विराटनगर किंग्सविरुद्ध सात रनको जित निकालेको थियो । कर्णालीको जितमा गुल्सन झा ४९ रनमा अविजित रहे । अर्धशतक बनाउन एक रनले चुकेका गुल्सनले ३७ बलमा तीन चौका र चार प्रहार गरे । गुल्सनसँगै अविजित रहेका विलियम बोसिस्टोले दुई रन थपे ।






