मस्को, २६ कार्तिक । रुस र युक्रेनले युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा घातक ड्रोन आक्रमण गरेका छन् ।
आइतबार रुसी रक्षा मन्त्रालयले भन्यो, ‘हामीले युक्रेनी ड्रोनहरू छवटा क्षेत्रमा रोकेका छौँ । तीमध्ये केही राजधानी मस्कोतर्फ गइरहेका थिए। जसका कारण मस्कोका तीन प्रमुख विमानस्थलबाट उडानहरू डाइभर्ट गर्नुपरेको थियो ।’
युक्रेनी वायुसेनाका अनुसार रुसले शनिबार राति १ सय ४५ वटा ड्रोन आक्रमणहरू गरेको थियो जसले देशको हरेक भागलाई लक्षित गरेको थियो । तीमध्ये अधिकांशलाई खसालिएका थिए ।
रुस र युक्रेनबिचका यी घातक ड्रोन आक्रमणहरू यस्तो समयमा सुरु भएका छन् जब अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्य गर्न दुवै पक्षलाई दबाब दिन सक्ने अपेक्षा गरिएको छ ।
आइतबारको युक्रेनी आक्रमण आक्रमण युद्ध सुरु भएयता रुसी राजधानीमा भएको सबैभन्दा ठुलो हमला हो । मस्कोका गभर्नरले पनि आक्रमणलाई ‘ठुलो’ भनेका छन् । अधिकारीहरूले अधिकांश ड्रोनहरू रामेन्सकोये, कोलोम्ना र डोमोडेडोभोमा खसालेको बताएका छन् ।







