काठमाडौँ, २० कार्तिक । विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने उद्देश्यका साथ भारतमा जारी अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को अध्यक्षमा भारत चयन भएको छ ।
भारतको नयाँदिल्लीमा आइतबारदेखि सुरु भएको सातौँ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भारतले नेतृत्व लिएको हो । यस्तै, सहअध्यक्षमा फ्रान्स चयन भएको छ भने महानिर्देशकमा भारतका आशिष खन्ना निर्वाचित भएका हुन् ।
सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२१) को २१औँ सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएअनुसार उक्त गठबन्धनको सातौँ सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल भएको नेपालबाट सहभागी विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहले जानकारी दिए ।






