मेरो हत्या प्रयास भयो : इजरायलका प्रधानमन्त्री नेतन्याहु

एजेन्सी, ४ कार्तिक । लेबनानको भूमिबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ ड्रोन हमला भएको छ ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले आफ्नो हत्या गर्ने कोसिसमा हेजबुल्लाहले ड्रोन प्रहार गरेको भन्दै यसको महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

बीबीसीका अनुसार नेतन्याहुको एउटा घर समुद्र किनारमा रहेको सिजेरिया शहरमा छ । अर्को घर राजधानी जेरुसेलममा छ । जेरुसेलमकै बेत अघियोन भन्ने स्थानमा प्रधानमन्त्रीको सरकारी निवास छ । हाल यसको प्रबलीकरणको काम भइरहेको छ ।

लेबनानको तर्फबाट शनिबार भएको ड्रोन प्रहार नेतन्याहु घर भएको सिजेरिया शहरमा हो । इजरायली सेनाका अनुसार लेबनानको तर्फबाट ५५ वटा ड्रोन प्रहार भएका थिए । तीमध्ये तीनवटा मानवरहित ड्रोन इजरायली भूमिमा प्रवेश गरेका थिए । ती तीनमध्ये एउटा ड्रोन सिजेरिया शहरको एक भवनमा ठोक्किएको थियो ।

त्यो समयमा नेतन्याहु सिजेरियाको घरमा थिएनन् । प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आक्रमणको बेला प्रधानमन्त्री र उनकी पत्नी त्यहाँ थिएनन् । र, यस आक्रमणबाट कोही घाइते पनि भएका छैनन् ।’

प्रधानमन्त्री नेतन्याहुले भने सामाजिक सन्जाल एक्समा लेखेका छन्, ‘इरानको प्रोक्सी हिजबुल्लाहले मेरो र मेरी पत्नीको हत्याको कोसिस गरेर ठूलो गल्ती गरेको छ ।’

उनले यसबाट आफ्ना शत्रुहरुविरुद्धको युद्ध नरोकिने पनि उनले बताएका छन् । उनले भनेका छन्, ‘म इरान र उसको प्रोक्सीलाई भन्न चाहन्छु, जसलाई हामीलाई क्षति पुर्‍याउने कोसिस गर्छ, उसले ठूलो मूल्य चुकाउनुपर्छ । हामी आतंकवादीलाई अन्त्य गर्ने अभियान जारी राख्ने छौं र बन्धक बनाइएकाहरुलाई घर फिर्ता ल्याउने छौं ।’ उनले इजरायलले जित हासिल नगरेसम्म युद्ध जारी राख्ने पनि बताएका छन् ।

लेबनानको तर्फबाट आक्रमण भएपछि इजरायलले पनि त्यहाँ आक्रमण जारी राखेको बीबीसीले जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार राजधानी बेरुतको उत्तरतर्फ पर्ने जोनिया भन्ने ठाउँमा इजरायलले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर