एजेन्सी, ४ कार्तिक । बंगलादेशको अन्तरिम सरकारका एक सल्लाहकारले सन् २०२५ मा आम निर्वाचन हुने प्रवल सम्भावना रहेको बताएका छन् ।
अन्तरिम सरकारका सल्लाहकार डा. आसिफ नजरुलले शनिबार जारी एक विज्ञप्तिमा भनेका छन्, ‘अर्को वर्ष निर्वाचन सम्भव होला, तर यसमा धेरै कुरा छन् । सुधार र राजनीतिक सम्झौताले चुनावी वातावरण बनाउँछ । चुनाव गर्नका लागि निर्वाचन आयोग गठन, मतदाता नामावली तयार गर्नेलगायतका काम पनि आवश्यक छ आदि हुन् । यदि यी कुराहरू पूरा गर्न सकियो भने अर्को वर्ष चुनाव हुन सक्छ।’
‘यो मेरो प्रारम्भिक अनुमान पनि हो,’ विज्ञप्तिमा भनिएको छ। उनले भने, ‘निर्वाचन महत्वपूर्ण नीतिगत निर्णय हो । यसको समय सरकारका प्रमुख सल्लाहकारको नेतृत्वमा तोकिनेछ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सल्लाहकार (मन्त्री) डा. आसिफ नजरुलले भन्नुभयो, ‘यो घोषणा गर्ने अधिकार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र यसको सल्लाहाकारका हैसियतमा मेरो पनि हो।’
नेतृ शेख हसिनाले गत अगष्ट ५ मा प्रधानमन्त्रीको पदबाट राजिनामा दिएपछि बंगलादेशमा राजनीतिक परिस्थिति तरल बनेको छ । गत अगस्ट ५ मा बंगलादेशबाट सैनिक विमानबाट भारत आएकी पूर्व प्रधानमन्त्री हसिना हाल भारतमा बस्दै आएकी छन् ।







