काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि नेपाली विद्यार्थी बिदेसिने क्रमलाई रोक्न देशमै अवसर प्रदान गर्नुपर्ने बताएका छन् ।
आज त्रिभुवन विश्वविद्यालयको साधारण सभा बैठक (सिनेट) लाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले समयको माग अनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै ठुलो सङ्ख्यामा विद्यार्थी बिदेसिने क्रमलाई स्वदेशमै केन्द्रित गर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘यी विषयमा के कति काम भएका छन् भन्ने समीक्षा गर्न पनि जरुरी छ । यदि सुधारको गति सुस्त छ भने यसलाई तीव्रता दिन सबैले आ—आफ्ना ठाउँबाट पहल गर्न म सबैलाई आग्रह गर्दछु’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
विश्वविद्यालयको प्राज्ञिक तथा प्रशासनिक कार्यका विविध पक्षलाई मैले नजिकबाट हेरिरहेको भन्दै विभिन्न माध्यमबाट विश्वविद्यालयको वर्तमान गतिविधिबारे आवश्यक जानकारी हासिल गर्ने गरेको बताए ।
‘विश्वविद्यालयहरूमा के कस्ता समस्याहरू छन्, ती समस्यालाई कसरी उत्पन्न भएका हुन् र तिनको समाधानका लागि विश्वविद्यालयका पदाधिकारी र सरोकारवाला पक्षसँग घनीभूत छलफलमा हामी छौँ’, प्रधानमन्त्रीले भने, ‘सबैको प्रयासलाई र संयोजित ढङ्गले अघि बढाएर समस्याको समाधान र चुनौतीको सामना गर्नुपर्छ । व्यापक फराकिलो भएर जानुपर्ने अवस्था छ ।’
उनले त्रिभुवन विश्वविद्यालयको बेरुजु बढन नदिए पनि कम गर्न नसकेको बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘ त्रिभुवन विश्वविद्यालयको बेरुजु बढ्न दिइएको छैन। तर कम गर्न सकिएको छैन।’
उनले महालेखा परीक्षकको कार्यलयको ५७औं प्रतिवेदनले २८ अर्ब ६७ करोड बढी बेरुजु देखाए पनि अहिले करिब त्रिविको २२ करोड रहेकोले हरेक वर्ष एक करोड बेरुजु फर्स्योट भई रहेको दाबी गरे ।






