विराटनगर, २६ माघ । विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मोरङ जिल्ला क्रिकेट सङ्घले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष मोहम्मद साद कुरैसीले फागुन २२ गतेबाट चैत्र ३ गतेसम्म कोशी प्रदेश राष्ट्रिय टी– ट्वेन्टी प्रतियोगिता हुने जानकारी दिए । पत्रकार सम्मेलन अध्यक्ष कुरैसीले प्रतियोगिताको लागि मैदान तयारीको काम तीव्रता पूर्वक भइरहेको बताए ।
प्रतियोगिताका विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्ने बताएका अध्यक्ष कुरैसीले प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय मैदान तयार हुने प्रस्टाए । सात वटा प्रदेशसंगै ३ वटा विभागीय टोलीबिच प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि करिब ७५ लाख रुपैयाँ खर्च हुने उनको भनाई छ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा १० टोलीले कुल २३ खेल खेल्नेछन् ।
पत्रकार सम्मेलनका क्रममा कोशी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सर्वजीत राज पाण्डेले टी–ट्वेन्टीलाई सफलता पूर्वक आयोजना गराउन सबै पक्षले सहयोग गर्नु पर्ने बताए । क्यानको क्यालेण्डर अनुसार आयोजना हुने यस प्रतियोगिताले प्रदेशको क्रिकेट क्षमतालाई थप उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।







