सामुदायिक विद्यालय समायोजन गर्दै स्थानीय तह

महेन्द्रनगर, २५ पौष । कञ्चनपुरका स्थानीय तहले विद्यालय समायोजन र व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएका छन् । जिल्लामा नौ पालिकामा ५७ सामुदायिक विद्यालय छन् । भीमदत्त नगरपालिकाले विद्यालयको स्थलगत अनुगमन गरी तयार गरिने प्रतिवेदनका आधारमा व्यवस्थापन गर्ने जनाएको छ ।

भीमदत्त नगरपालिका शिक्षा शाखाका प्रमुख कलावती मिश्रले सामुदायिक विद्यालयको अनुगमन जारी रहेको बताइन् । “चालिसवटा विद्यालयको समग्र अवस्थाबारे स्थलगत अनुगमन भइसकेको छ”, उनले भनिन्, “सो क्रममा विद्यार्थीको सङ्ख्या, विद्यालयको अवस्था र विद्यालयबीचको दूरीलगायतका विषय बुझ्ने गरिएको छ ।” उनले प्रतिवेदनपछि मात्रै विद्यालय समायोजनदेखि व्यवस्थापनका विषय अघि बढ्ने जानकारी दिइन्।

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले गत वर्ष नै विद्यालय समायोजन गर्ने लक्ष्यसहित सामुदायिक विद्यालय अनुगमन गरिसकेको छ । शिक्षा शाखाका प्रमुख सुरेशप्रसाद भट्टले गत वर्ष शैक्षिकसत्र सुरु भइसकेकाले समायोजनको निर्णय हुन नसकेको बताए । “यहाँ रहेका ३२ वटा सामुदायिक विद्यालयमध्ये तीनदेखि चारवटासम्म समायोजन हुने भन्ने छ”, उनले भने, “त्यसका लागि कार्यदलसमेत पालिकामा बनेको छ ।” उनले यो वर्ष पालिकामा विद्यालय समायोजन भइसक्ने बताए । त्यसैगरी कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाले सामुदायिक विद्यालयमा समायोजन गरिसकेको छ । यहाँको शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले यहाँ एउटा सामुदायिक विद्यालय समायोजन गरिएको बताए ।

“दोधारा चादँनीमा २३ वटा सामुदायिक विद्यालयबाट समायोजन गरेर २२ रहे”, उनले भने, “दरबन्दी मिलान पनि सोहीअनुसार भइसकेको छ ।” बेल्डाँडी गाउँपालिकाले पनि समायोजन कार्य अघि बढाउन सामाजिक विकास समितिका संयोजकको संयोजकत्वमा १२ सदस्यीय कार्यदल बनाएको छ । “कार्यदलले यहाँ रहेका १४ वटै विद्यालय अनुगमन गरी प्रतिवेदन बनाएर पालिकाका अध्यक्षलाई बुझाएको छ”, बेल्डाँडी गाउँपालिका शिक्षा शाखाका प्रमुख भानुभक्त जोशीले भने, “अध्यक्ष र कार्यपालिकाबाट निर्णय हुन बाँकी छ ।”

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयका प्रमुख दीपक कलौनीले कञ्चनपुरमा बेदकोट र दोधारा चादँनी नगरपालिकामा एक–एक विद्यालय समायोजन भएको जानकारी दिए । कञ्चनपुरमा कुल दुई सय ५९ सामुदायिक विद्यालय सञ्चालित छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा