विश्वकप छनोट : अमेरिकाले नेपाललाई दियो २ सय ८ रनको लक्ष्य

काठमाडौँ, ५ असार । नेपालले विश्वकप छनोटमा अमेरिकालाई नियन्त्रणमा राख्दै २ सय ८ रनको विजय लक्ष्य पाएको छ । जिम्बावेको हरारेको ताकासिंगा स्पोर्ट्स क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि ब्याटिङको निम्तो पाएको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भयो । 

करण करणले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन खर्चेर ४ विकेट लिए । उनले ७ ओभरको पहिलो स्पेलमा ४ विकेट लिएपछि नेपालले सुरुवातदेखि नै अमेरिकालाई दबाबमा राखेको थियो । दोस्रो ओभरमा स्टेभन टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरेर उनले विकेट लिन सुरु गरेका थिए । त्यसको अर्को बलमा साइतेजा मुक्कामालाई स्लिपमा आरिफ शेखबाट क्याच गराई करण ह्याट्रिक विकेटनजिक पुगेका थिए ।

कप्तान एरोन जोन्सलाई २ र नोसथुस केन्जिगेलाई १ रनमा आउट गर्दै करणले उत्कृष्ट बलिङ गरेका थिए, जसको कारण अमेरिका १८–४ को स्थितिमा पुगेको थियो । दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । उनले ५ ओभरमा १५ रनमात्र खर्चे ।

नेपालबाट पहिलो बल फालेका ललित राजवंशीले १० ओभरमा २० रनमात्र खर्चेर १ विकेट लिए । अर्का स्पिनर सन्दीप लामिछाने लगातार दोस्रो खेलमा विकेटविहीन भए । उनले १० ओभरमा ५९ रन खर्चिए । गुल्शन झाले अन्तिम २ विकेट लिए । उनले १० ओभरमा ५२ रन खर्चेर कुल ३ विकेट लिए ।

ओपनर सुशान्त मोदानीले डटेर खेल्दै ४२ रन बनाए । उनले ७१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । वेस्ट इन्डिजविरुद्धको अघिल्लो खेलमा शतक बनाएका गजानन्द सिंह २६ रनमा आउट भए । तर सायन जाँहागिरको अविजित शतकमा अमेरिकाले राम्रो पुनरागमन गर्‍यो । भिम सार्कीले २५ रनमा लङ अफमा क्याच छाडेको उनले पूरा फाइदा उठाए । जाहाँगिरले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका हुन् । अर्धशतक बनाउन ५६ बल खेलेको उनले दोस्रो ५० रन पूरा गर्न २३ बलमात्र लगाए ।

१ सय रनमा अविजित रहेका जाहागिरले कुल ७९ बल खेल्नेक्रममा १० चौका र ३ छक्का प्रहार गरे । करण केसीले फालेको नवौं ओभरमा २ छक्का र १ चौका प्रहार गर्दै उनी शतकतर्फ अगाडि बढेका थिए । उनलाई निसर्ग पटेल (८), जेसी सिंह (१२) र पूर्व कप्तान सौरभ नेत्राभाल्कर (४) ले राम्रो साथ दिए ।

नेपालले घाइते सोमपाल कामीको स्थानमा देव्रेहाते स्पिनर ललित खेलिरहेका छन् । अमेरिकाका कप्तान मोनांक पटेल अनफिट भएपछि उनको स्थानमा निसर्ग पटेललाई खेलाइएको थियो भने एरोन जोन्सले अमेरिकाको कप्तानी गरिरहेका छन् । अमेरिकाका तीव्र बलर अली खान पनि निलम्बनका कारण नेपालविरुद्ध खेलेका छैनन् ।

कुशल भुर्तेलले ९९ रन बनाएपछि नेपालले २ सय ९० रन बनाए पनि पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिका पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

नेपाल र अमेरिका विश्वकप लिग २ मा ६ पटक खेलेका थिए । त्यसमा नेपाल ३–२ जितले अगाडि छ । नेपाले पहिलो तीन खेल जितेको थियो । तर पछिल्ला तीन मध्येको २ खेल अमेरिकाले जितेको थियो भने एक खेल ‘टाई’ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका

काठमाडौँ, १५ असोज । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको नेतृत्व सरकारले नभई निजी क्षेत्रले गर्नुपर्ने बताए । मुलुकको आर्थिक

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना