काठमाडौँ, १३ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले दृष्टिविहिन तथा न्युन दृष्टियुक्त अपाङ्गता भएका व्यक्तिका लागि उपयुक्त सिपसँग जोड्न आवश्यक पाठ्यक्रम, कार्यक्रम तयार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल नेत्रहिन सङ्घद्वारा उक्त मन्त्रालय तथा विकासका लागि साझेदार संस्थाहरूसँगको सहकार्यमा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा उहाँले प्राविधिक सिपले अपाङ्गता भएका व्यक्तिलाई स्वरोगार तथा रोजगारीसँग जोडिन सहयोग मिल्ने वातावरण तयार गर्न सरोकारवाला संस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला विभागका निर्देशक उपसचिव निरा अधिकारीले अवसर पाए अपाङ्गता भएका व्यक्तिले गर्न नसकिने केही हुन्न भन्दै सो मन्त्रालयमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत पिछडिएको क्षेत्र तथा गाउँलाई सहयोग गर्ने कार्यक्रममा दृष्टिविहीनसँग काम गर्ने संस्था तथा व्यक्तिले सहभागिता नभएको बताउनुभयो ।
सह–सचिव डा. कमल पोखरेलले दृष्टिविहीन र न्युन दृष्टिविहीन व्यक्तिका लागि उपयुक्त पेशा, व्यवसायबारे चर्चा गर्दै चित्रकला, सङ्गीत, कम्प्युटर सप्टवेयर,एप डिजाइन, नेटवर्किङ, रिसेप्सन,मसाज पार्लर, फिजियो थेरापीलगायतका काम सफलतापूर्वक गरिरहेको बताउनुभयो । उहाँले शिक्षण पेशा र सरकारी कार्यालयमा समेत आफ्नो उपस्थिति गराएर सक्रियतापुर्वक काम गरिरहेका व्यक्तित्वबाट प्रेरित भएर सिपमुलक काम गर्न सक्ने जनशक्ति तयार गर्न र रोजगारीसँग जोडिने अवसर प्रदान गर्नुपर्ने बताउनुभयो ।
नेपाल नेत्रहिन सङ्घका निर्देशक नरबहादुर लिम्बुले हालसम्म करिब सातहजार जना अपाङ्गता भएका व्यक्तिले विभिन्न प्राविधिक तालिम लिएर करिब आठसयले निरन्तर रोजगारी गरेर आत्मनिर्भर जीवन बाँचेको बताउनुभयो । उहाँले अपाङ्गता भएका, विशेष गरी दृष्टिविहीन र न्युन दृष्टिविहीन व्यक्तिले शिक्षण,साबुन, धुपबत्ती बनाउनेदेखि वाइल्डिसम्मको काम गर्न सक्छन् तर आवश्यक सिप र त्यसपछिको रोजगारीको अवसरका लागि राज्यले प्राविधिक शिक्षा व्यवसायिक तालिम परिषद् (सिटीभिटी)मै छुट्टै पाठ्यक्रम तयार गर्नुपर्ने माग गर्नुभयो ।
नेत्रहिन सङ्घका अध्यक्ष सुरेशचन्द्र न्यौपानेले दृष्टिविहीन व्यक्तिलाई रोजगारसँग जोड्दै आत्मनिर्भर जीवन बाँच्न सहयोग पु¥याउने क्षेत्र प्राविधिक सिप तालिम नै हो, भन्दै सङ्घले देशभरका सात प्रदेशमै सिप सिकाउने केन्द्रको संयोजनका लागि जोड दिएको बताउनुभयो । कार्यक्रममा कलाकार प्रेम लिम्बुले आफुले सङ्गीतमार्फत विगत २० वर्षदेखि थुप्रै दृष्टिविहीनलाई दोहोरी रेष्टरेण्टलगायतका स्थानमा रोजगारीमा काम गर्न सक्ने सिप प्रदान गरेको बताउनुभयो ।
त्यसैगरी प्रयत्न नेपालका संस्थापक सरिता लामिछानेले भारतको केरलामा नेतृत्व विकासको तालिम लिएर फर्केपछि प्रयत्न नेपालमार्फत अपाङ्गताको सवालमा काम गर्दा तालिमपछि रोजगारी वा स्वरोजगारसँग जोडिएपछि पनि निरन्तर सरोकारवालासँग सहकार्य भइरहनुपर्ने अनुभव सुनाउनुभयो ।






