अक्षरकै कारण विद्यार्थी अनुत्तीर्ण भएको भन्दै शिक्षकलाई अक्षर सुधार तालिम

दाङ, ६ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीका अक्षर सुधार अभियान सुरुआत गरेको  छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार पहिलो चरणमा सरकारी विद्यालयमा कार्यरत शिक्षकलाई अक्षर सुधार तालिम प्रदान गरिएको छ ।

शिक्षकलाई तीन दिने तालिम प्रदान गरेपछि ती शिक्षकले विद्यालयमा विद्यार्थीलाई अक्षर सुधार गर्न सिकाउने उहाँले बताउनुभयो । “हामीले विद्यार्थीका अक्षर सुधारका लागि अभियान थालेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा तुलसीपुरका सबै विद्यालयबाट शिक्षक बोलाएर तालिम प्रदान गरेका छौँ, ती शिक्षकले विद्यार्थीलाई अक्षर सुधार गर्न लगाउनुहुनेछ ।”  विद्यार्थीले ज्ञान आर्जन गरेको कुरा परीक्षामा व्यक्त गर्ने माध्यम भनेको अक्षर नै भएकाले अक्षर सुधार पनि महत्वपूर्ण रहने जनाउँदै यो अभियान चलाएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो । “पढेर मात्रै हुँदैन, पढेको कुरा अक्षरमा उतार्नुपर्ने र लेखेको कुरा सबैले बुझ्ने हुनुपर्छ”, उहाँले भन्नुभयो, “तर, हामी जति ज्ञानी भए पनि अक्षर कसैले नबुझ्ने भएमा त्यसले कुनै प्रभाव पार्दैन, त्यसैले हामीले यो अभियान अघि बढाएका हौँ ।”  

पहिलो चरणमा अक्षर सुधारका लागि शिक्षकलाई तालिम दिएको र त्यो कुरा व्यवहारमा उतारेको–नउतारेको कुराको विद्यालयमै गएर अनुगमन पनि गरिने उहाँले बताउनुभयो । शिक्षकले अक्षर सुधार कार्य एकदमै महत्वपूर्ण रहेको बताएका छन् । “हामीले अझै पनि अक्षर लेख्न पनि जानेका रहेनछौँ, बाक्य संरचना कसरी मिलाउँदा अक्षर सुन्दर हुँदो रहेछन्, भन्ने कुरा ख्याल रहेनछ”, मावि प्रतापकोटका शिक्षक मेघराज पोख्रेलले भन्नुभयो, “शिक्षकले अक्षर सुधार गरेमा सोहीअनुसार विद्यार्थीलाई पनि सिकाउन सजिलो हुन्छ, त्यसैले यो कार्य एकदमै राम्रो छ ।” विद्यार्थीलाई राम्रो लेख्न भनि निर्देशन गर्ने तर, कसरी राम्रो अक्षर लेख्ने भन्ने कुराको तरिका शिक्षकलाई नै थाहा नहुँने अवस्था रहेको भन्दै यो कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो । 

धेरै विद्यार्थी अक्षरकै कारण अनुत्तीर्ण हुने गरेको भन्दै अक्षर पनि शिक्षणको महत्वपूर्ण पाटो रहेको प्रशिक्षक हिमाल डाँगीले बताउनुभयो । “धेरै विद्यार्थी अक्षरकै कारण अनुत्तीर्ण हुनुभएको छ, भने केहीले सोचेजस्तो अङ्क पनि ल्याउन सक्नुभएको छैन”, उहाँले भन्नुभयो, “त्यसैले पनि अक्षर सुधार अपरिहार्य छ ।” संस्थागत विद्यालयले अक्षरलाई पनि ध्यान दिने तर, सरकारी विद्यालयले अक्षरमा त्यति ध्यान नदिँदा पनि समस्या भएको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ भदौ । नाइजरको राजधानी नियामेस्थित एक सैन्य अखडामा शनिबार सेनाको एक समूहले आफ्नै वरिष्ठ अधिकारीहरूविरुद्ध विद्रोह गर्दै गोलीबारी र शृङ्खलाबद्ध

काठमाडौँ, १३ भदाै । संयुक्त राष्ट्रससङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी

काठमाडाैँ, १२ भदौ । अमेरिकाले विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई सहयोग पठाउने घोषणा गरेको छ।