काठमाडौँ, २४ पौष । नेपाल तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष प्रकाश शम्शेर राणाले राष्ट्रिय खेलकुद परिषद राखेपमा दर्ता खारेजीविरुद्ध उच्च अदालत पाटनबाट अन्तरिम आदेश पाएर अदालतले आफुहरुलाई न्याय दिएको बताउनुभएको छ । ११ पुसमा प्रारम्भिक सुनुवाइपछि अदालतले अल्पकालीन आदेश दिएको थियो ।
बुधबार सबै पक्षसँगको छलफलपछि न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिँदै २४ मंसिरको मन्त्रीस्तरीय निर्णय र ५ पुसको राखेपको निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको हो । संघको केन्द्रीय कार्यालय सातदोबाटोमा पत्रकार सम्मेलन गरी अध्यक्ष राणाले अदालतको आदेशससंगै नेपाल तेक्वान्दो संघ मात्र आधाकारिक तेक्वान्दो भएको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमा आफूहरुमात्र रहने बताउनुभयो । विश्व तेक्वान्दो महासंघको सम्वन्धन रहेको नेपाल तेक्वान्दो संघले अदालतको आदेशसँगै राष्ट्रिय टिम तयारी, अन्तर्राष्ट्रिय सहभागिता, रेफ्री सेमिनार, प्रशिक्षण कोर्ष लगायतका गतिविधि तेक्वान्दो संघ मार्फतबाट मात्र रहने बताउनुभयो ।
एउटा तेक्वान्दो हुँदा हुदै परिषदले आफै एकै प्रकृतिको दुई तेक्वान्दो बनाएर दुई संघको विवाद रहेको भन्दै ५ पुसमा नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता खारेज गरी नेपाल तेक्वान्दो महासंघ गठन गरेको थियो । राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष समेत रहेका राखेपका उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा खेल संघ विवाद समाधान समिति बनाएर आफै अनुकुल निर्णय गराएका थिए । सोही समितिको प्रतिवेदनलाई २४ मंसिरमा तत्कालीन खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सदर गरेका थिए । दर्ता खारेजीविरुद्ध तेक्वान्दो संघले ८ पुसमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।
खेलकुद मन्त्रालय र राखेपको कदमबाट संघ, समग्र तेक्वान्दो खेलाडी, डोजाङ, प्रशिक्षक लगायतलाई परेको समस्यामा अदालतले न्याय दिएको बताउदै उच्च अदालतमा जारी मुद्दाको अन्तिम फैसला नआउन्जेलसम्म सबै सहयोग गर्न आफूहरु तयार रहेको पत्रकार सम्मेलनमा महासचिब दिपराज गुरुङले बताउनुभयो ।







