ठमेलमा पुस्तकको व्यापार बढ्दै : ‘फरगेट काठमाडौँ’ पर्यटकको रोजाइमा

काठमाडौँ, ९ पौष । कोरोना महामारीले चौपट बनाएको पुस्तकको व्यापार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विस्तारै बढ्न थालेको छ । विदेशी पर्यटकलाई  लक्षित गरी राखिएका पुस्तकको बिक्री बढ्न थालेको पिलग्रिम्स बुक हाउसका सञ्चालक कहानी तिवारीको भनाइ छ । भारतबाट किताब खरिद गरेर ल्याउने र नेपालमा बिक्री गरिने गरेको छ । पाँच–दश वर्षअघि हुने व्यापारको तुलनामा अहिले पुस्तक बिक्री छैन । तर कोरोना महामारी पछि पाठक थपिएको पिलग्रिम्स बुक हाउसका  बिक्री प्रवन्धक गौरव अवस्थीले बताए । “अहिले स्थानीय, त्यसमा पनि युवा पाठकको सङ्ख्या कोरोना महामारीपछि थपिएको छ । पर्यटक भने यो वर्ष धेरै आएका छैनन्”, उनले भने । 

पछिल्लो समय अनलाइनबाट पनि पाठकले आफूलाई मन परेको पुस्तक किन्न थालेका छन् । “विदेशी पसलमै आउँछन्, केहीले अनलाइनबाट लिन्छन्, स्थानीय पाठक आफैँ आएर हेरेर पुस्तक लैजान्छन्”, उनले भने, “जर्मन, फ्रान्स, अमेरिका, भारतलगायत देशका पर्यटक पुस्तक खोज्न आउँछन् ।” विदेशीको तुलनामा नेपाली पाठकको सङ्ख्या पनि कम छैन । अवस्थीका अनुसार नेपाली पाठकले ‘सेल्फ हेल्प’, व्यवसायसम्बन्धी, बालबालिकासम्बन्धी, साहित्य, नाटक, धार्मिक, सदगुरु, ओशोको पुस्तक धेरै खोज्छन् । पर्यटकले विदेशी लेखककै पुस्तक बढी खोज्ने उनको अनुभव छ । नेपाली लेखक बुद्धिसागरद्वारा लिखित अङ्ग्रेजी अनुवाद ‘कर्णाली ब्लुज’, पारिजातको ‘शिरिषको फूल’, मन्जुश्री थापाको ‘फरगेट काठमाडौं’, सम्राट उपाध्यायको ‘द गुरु अफ लभ’,‘यारेस्टिङ गड इन काठमाडौं’, ‘द रोयल घोस्ट’लगायतका पुस्तक विदेशी पाठकको रोजाइमा पर्छन् ।  थापाद्वारा लिखित ‘फरगेट काठमाडौं’मा २०५८ सालमा नेपालमा भएको राजदरबार हत्याकाण्डदेखि आर्थिक सङ्कटको विषय समेटिएका छन् । जुन नेपाली पुस्तकमध्ये पर्यटकले बढी खोज्ने किताब हो । 

पिलग्रिम्समा रु ५० देखि १५ हजारसम्म मूल्यका पुस्तक पाइन्छन् । विदेशीले किताबमा छुट नखोज्ने भन्दै नेपालीले नै बढी खोज्ने अवस्थीको भनाइ छ । साथै अन्य किताबमा ‘इकिगाइ’,‘जापनीज वे अफ लिभिङ’, व्यवसाय सफल पार्ने विषय समेटिएको ‘रिच ड्याड पुअर ड्याड’, ‘थिन्क एण्ड ग्लोरिज’, ‘द पावर अफ कन्फ्युज्ड माइन्ड’, विदेशी लेखक जोन भेक्टनद्वारा लिखित ‘हिस्ट्री अफ नेपाल’, काठमाडौंमा ३० वर्ष बसोबास गर्नुभएका थोमसद्वारा लिखित ‘काठमाडौं’, ‘म्यासाकर रोयल प्यालेस’ लगायतका पुस्तक बढी बिक्छन् । विदेशी ग्राहक निश्चित मौसममा आउने भए पनि स्वदेशी ग्राहक बाह्रै महिना आउने ठमेलस्थित नेपाल बुक हाउसका सञ्चालक गणेशजङ्ग कार्कीले बताए । विदेशीले पर्वतीय पदयात्रासम्बन्धी पुस्तक बढी खोज्ने भन्दै उनले स्वदेशी पाठकले साहित्य र विचार समेटिएका पुस्तकमा बढी रुचि राख्ने अनुभव सुनाए । विराटनगर स्थायी घर भएका कार्कीले विशेष गरी नेपालका पर्यटकीय क्षेत्रसम्बन्धी किताब विदेशीले रुचाउने बताए । कार्कीको पसलमा रु २५० देखि २५ हजारसम्म मूल्यका पुस्तक पाइन्छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ भदौ । भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका

काठमाडौँ, २१ भदौ । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेन-जी मेमोरियल पार्कको शिलान्यास

काठमाडौँ, २१ भदौ । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन

काठमाडौँ, २१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्त्वपूर्ण पूर्वाधार